बजेट बनाउन लागिपरेका अर्थसचिव रायलाई महतले एक्कासी सरुवा गर्नुको अन्तर्य

Advertisement

काठमाडौं । बजेट भाषण हुन २५ दिन बाँकी रहँदा अर्थमन्त्री प्रकाशशरण महतले अर्थमन्त्रालयका कर्मचारीहरुलाई निराश पारेका छन् । बजेट निर्माणमा खटिएका कर्मचारीहरुको मनोबल खस्किनेगरी अर्थसचिव तोयम रायको सरुवा गरेपछि कर्मचारीहरु मन्त्रीबाट परिवर्तनको आशा गर्न नसकिने बताउन थालेका छन्।

महत अर्थमन्त्री भएर आएसँगै बजेट निर्माणको लागि टिम बनाएका थिए। यसले कर्मचारीहरुमा बजेट अघि सरुवा हुननपर्ने आत्मविस्वास जगाएको थियो। मन्त्री महतले बजेट महाशाखामा उत्तरकुमार खत्रीबाहेक अन्य कर्मचारी यथावत राखेका थिए । तर मन्त्री महतले बजेट बनाइरहेका अर्थसचिव तोयम रायलाई सरुवा गरेपछि अन्य कर्मचारीहरु झस्किएका छन् । 

Advertisement

रायको सुरुवापछि आफूहरु पनि जुनसुकै बेला सरुवा हुनसक्ने भय अर्थका कर्मचारीहरुले प्रकट गर्न थालेका छन् । बिहीबार नयाँ सचिव स्वागत र पूरानाको बिदाई कार्यक्रममा मन्त्री महतको अनौठो व्यवहार देखाएको एक कर्मचारीले बताए । स्वागत र विदाई कार्यक्रममा तीन मिनेटभन्दा कम समय बिताएका महतले प्राविधिक कारणबाट सचिव रायको सरुवा गर्नुपरेको तर्क गरेका थिए । 

उनी मन्त्रालय आएसँगै कर्मचारीलाई कामको आधारमा मूल्यांकन हुने र अनुशासित भएर काम गर्न आग्रह गर्दै आएका थिए । तर मन्त्री महतको भनाई र गराईमा फरक देखिएको ती कर्मचारीले बताए । तुलनात्मक रुपमा अब्बल र क्षमतावान सचिवको रुपमा चिनिएका रायलाई किन सरुवा गरियो ? भनेर मन्त्रालयका कर्मचारीहरु नै आश्चर्यमा परेका छन् । 

मन्त्रालयका एक कर्मचारीले भने ‘सचिव रायले स्रोतको अभाव भएको बेला ठूलो आकारको बजेट ल्याउन नहुने र मुठ्ठी कस्नुपर्ने बेला भएको अडान लिँदै आएका थिए ।’ बजेट मनपरी गर्न अर्थसचिव बाधक बन्ने देखिएपछि महतले माओवादी केन्द्रसँग निकट रहे पनि काम गर्न अनुकुल खालका सचिवलाई अर्थमा भित्राएका छन् । 

सचिव रायले महत अर्थमन्त्री भएर आएको पहिलो दिनमै आफ्नो सरुवाको विषयमा क्लियर गर्न आग्रह गरेका थिए । आफू अर्थसचिव रहँदा अनुकुल नहुने भए सुरुवा गर्न आग्रह गरे पनि महतले भने समस्या नरहेको भन्दै रायलाई निरन्तरता दिएका थिए । तर पछिल्लो परिस्थितिमा भने उनले रायलाई सरुवा गर्ने निष्कर्षमा पुगेका छन् । अर्थ मन्त्रालयमा आउन पूर्वअर्थसचिव कृष्णहरि पुस्कर लालयीत भए पनि बढी आलोचना हुने डरले सरकारले सरुवा गर्ने आँट गरेको थिएन् । 
 
तर बजेट निर्माणको रफ्तार बढिरहेको बेला महतले एक्कासी रायलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरेर प्राविधिक कारणले सरुवा गर्नुपरेको तर्क गरेबाट धेरै आशंकाहरु जन्माएको छ । 

सुपारीको निर्णय नगरिदिएको झोंक
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव रायलाई पूर्व उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूले वाणिज्य सचिवमा ल्याएका थिए । उनी वाणिज्य सचिव बनेपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणाले सुपारी र पोस्ताको आयात खुलाइदिन आग्रह गरेकी थिइन् ।

राय वाणिज्य सचिव बनेपछि पोस्ता र सुपारीको कोटा खोल्न विभिन्न आर्थिक प्रस्ताव रायलाई आएको थियो । स्रोतका अनुसार सचिव रायलाई सुपारी र पोस्ता दानाको कमिसनवापत आकर्षक रकम दिन व्यापारीहरु तयार पनि भइसकेका थिए । तर त्यो अफर सचिव रायले अस्वीकार गरे । आफ्नो आग्रह नमानेपछि तत्कालिन उद्योगमन्त्री बडू रायदेखि रुष्टसमेत भएका थिए । 

उद्योगबाट अर्थमा पुगेपछि सचिव रायले विराटनगर भन्सार कार्यालयका विवादित प्रमुख तारा सापकोटालाई कारबाही गरेका थिए । कारबाही रोक्नका लागि सचिव रायमाथि ठूलो दबाब र धम्की समेत आएको थियो । तर उनले सापकोटालाई आन्तरिक कारबाही गरेरै छोडेका थिए ।

मन्त्री भएर आएपछि महतले सचिव रायलाई असम्बन्धित मानिसहरुसँग भेट गर्न दबाब दिने गरेका थिए । ‘असम्बन्धित मानिसलाई मैले किन भेट्नुपर्यो र मन्त्रीज्यू ?’ भनेपछि महत रायदेखि सन्तुष्ट थिएनन् । यस्तै पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि आफूले विनियोजन गरेको बजेट किन काटेको ? भन्दै फोन गरेर धम्क्याउने गरेका थिए । प्रतिउत्तरमा उनले राजश्व संकलन लक्ष्यअनुसार हुननसक्दा स्रोत व्यवस्थापनमा समस्या भएको जवाफ दिँदै आएका थिए । 

मन्त्री महत आएपछि रायले सुरुदेखि नै ‘मन्त्रीज्यू ! साँच्चै देशका लागि काम गर्ने भए राम्रा कर्मचारी छानेर नतिजा देखिने गरी काम गरौं’ भनेर प्रस्ताव गर्दै आएको स्रोतले जानकारी दियो । उनको प्रस्तावमा महतले सकारात्मक जवाफ दिने गरेका थिए । तर बिहीबारको कार्यक्रममा रायको सरुवा कसरी भयो ? भन्ने विषय नै थाहा नपाए जस्तोगरी आफू व्यस्त रहेको भन्दै महत बाहिरिएका थिए । 

राजश्व संकलनमा संकुचन आएको बेला भीमकाय बजेट अनुचित
सचिव रायले आगामी आर्थिक वर्षमा सानो आकारको बजेट ल्याउने तयारी गरेका थिए । मन्त्रीलाई पनि सोही कुरामा ‘कन्भिन्स’ गराउने प्रयास गर्दै आएका थिए । तर पछिल्लो समयमा मन्त्री महत सो कुरामा सहमत हुन सकेनन् । सत्तारुढ दल माओवादी केन्द्रका मन्त्रीहरुले पनि कुरा कुरा मानेनन् । राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्बको बजेट सिलिङ ल्याए पनि सो भन्दा कम आकारको बजेट ल्याउनुपर्छ भन्ने मान्यतामा सचिव राय थिए । 

मन्त्रीले भनेअनुसारको आकार र बजेट विनियोजनामा सचिव बाधक बन्ने भएपछि महत विकल्प खोजेका हुन् । ठूलो आकारको बजेट ल्याउने कुरामा राजश्व सचिव रामप्रसाद घिमिरे पनि सहमत छैनन् । तर एकै पटक दुवै सचिव हटाउँदा धेरै नराम्रो सन्देश जाने र आलोचना हुने देखेपछि महतले रायलाई सरुवा गराएका हुन् । महतले अर्जुन पोखरेललाई अर्थसचिव बनाएका हुन् । 

Advertisement

Advertisement