नीति तथा कार्यक्रम अघिल्लो चोटी ६५ पानाको थियो, अहिले ६६, त्यत्ति फरक होः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उनको तर्क छ ।

सोमबार प्रतिनिधिसभामा लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको बताए । उनले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने बताए । 

Advertisement

देश नै बिग्रने भएकाले सो नीति तथा कार्यक्रम थप छलफल गरेर आउनुपर्ने लिङदेनको भनाई छ । उनले भने, ‘अहिले देशको अवस्था सामान्य होइन । अहिले देशले र दुनियाँले जुन आर्थिक संकट व्यहोरिराखेको छ । त्यसलाई हाम्रो परम्परागत कार्य शैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन । त्यसकारणले यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढछौं भन्ने कुरा आउनु पर्दथ्यो ।’ 

लिङदेनले थपे, ‘यो नीति तथा कार्यक्रम सामान्य अवस्थामा, ठिकठाक अवस्थामा ल्याउनेजस्तो छ । र, धेरै कुराहरु मैले फेरी पनि भने–प्रष्ट छैनन् । यसले समस्याहरु पहिचान गर्न सकेको छैन । प्राथमिकता छुट्टयाउन खोजेकै छैन । अथवा हाम्रा प्राथमिकता के हुन ? त्यसलाई प्रष्ट पार्न सकेको छैन । र, छलफल गर्नुपर्ने प्रशस्त विषयहरु छन । हामीले ल्यायौं, हामीसँग बहुमत छ । पास गर्छौं । ताली ठटाएर पास गर्छौ । त्यो भन्न पाउनु हुन्छ । पास गर्न पाउनु हुन्छ । र, मैल अस्ती भर्खरै पनि भनेको थिएँ– देश तपाईंको मात्रै होइन । सरकारमा बस्नेको मात्र होइन । यो देश बिग्रिँदाखेरी तपाईंको मात्रै बिग्रिँदैन । सरकारमा बस्नेहरुको मात्रै बिग्रिदैन । देश हाम्रो पनि बिग्रिन्छ मात्रै होइन । आउने पुस्ताहरुको पनि देश बिग्रिन्छ ।’ 

देश बिग्रिन नदिनु सबैको साझा विषय हो भन्दै उनले नमिलेका विषयहरु फेरि लेखेर ल्याउनुपर्छ भन्दा यसलाई अप्ठ्यारो मान्न नहुने बताए । लिङ्देनले अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने बताए । 

उनले भने, ‘तपाईं जनयुद्ध लेख्नुस, के लेख्नुस । आत्मरतिमा रमाउनुस । हामीले घुसायौं । शेरबहादुरजीलाई पनि बोकायौं भनेर भन्नुस । तर, त्यसले केही फरक पर्दैन । फरक मान्छेको जीवनमा पर्नुपर्छ । देशको जीवनमा फरक पर्नुपर्छ । ल भन्नुस त, कुन त्यस्तो नयाँ चिज आयो ? पहिलाकै निरन्तरता दिनको लागि त पहिले राम्रो भएको हुनु पर्यो । अहिले हरेक सालजस्तै तपाईंले पनि केही पान थपिदिनु भयो । अघिल्लो चोटी ६५ पानाको रहेछ । अहिले ६६ पेजको रहेछ । फरक त यति मात्रै हो । ’

अध्यक्ष लिङदेनले जुनयुद्ध नीति तथा कार्यक्रममा लेखियो भनेर आत्मरतिमा नरम्न पनि सरकारलाई सचेत गराए । देशको जीवनमा परक पार्ने, जनताको जीवनमा फरक पार्ने के त्यस्तो कार्यक्रम आयो ? भनि उनले सरकारलाई प्रश्न पनि गरे । 

Advertisement