नयाँ बजेटः विद्युतीय गाडी आयातको ‘लुप होल’ टालियो, अब एकै दरमा राजश्व गणना

Advertisement

काठमाडौं। नयाँ बजेटमा विद्युतीय गाडी आयातको ‘लुप होल’ टालिने भएको छ । किलोवाटअनुसार फरक भन्सार दर गणना हुने प्रणालीलाई खारेज गर्दै एकै दर गणना गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार (आज) अपरान्ह ४ बजे संसदमा पेश गर्ने आर्थिक ऐन २०८० ले विद्युतीय गाडीमा किलोवाटका आधारमा लाग्दै आएको करका दरहरुमा एकरुपमा कायम गर्नेगरी ल्याउन लागिएको हो । 

Advertisement

विद्युतीय गाडीमा एक सय किलोवाटसम्म कम राजश्व लाग्दै आएको छ भने सोभन्दा धेरै किलोवाटमा धेरै राजश्व लाग्दै आएको छ । आर्थिक ऐन २०७९ अनुसार एक सय किलोवाटसम्मको गाडीमा भन्सार महसुल र अन्य शुल्क १०–१० प्रतिशत, मूल्य अभिवृद्धि कर १३ प्रतिशत र अन्तःशुल्क दर ३० प्रतिशत लाग्दै आएको छ।

यस्तै, सय किलोवाट नाघेको तर दुई सय किलोवाट ननाघेका विद्युतीय गाडीमा भन्सार महसुल र अन्य शुल्क १५–१५ प्रतिशत, अन्तःशुल्क ३० र भ्याट १३ प्रतिशत लाग्दै आएको छ।

यसैगरी, दुई सय किलोवाट नाघेका तीन सय किलोवाट ननाघेको गाडीमा भन्सार महसुल र अन्य शुल्क ८०–८० प्रतिशत, अन्तःशुल्क ६० र भ्याट १३ प्रतिशत लाग्दै आएको छ ।

पछिल्लो समय व्यवसायीहरुले राजस्व छली गर्नका लागि ठूला वाटका गाडीलाई कम्पनीबाट नै कम वाटको बनाएर ल्याउने गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न एकरुपता कायम गर्न खोजिएको अर्थ मन्त्रालय स्रोतको भनाई छ । 

भन्सार कार्यालयसँग कुन गाडि कति वाटको हो ? छुट्याउने प्रविधि छैन् । यस्तै, यातायात कार्यालयमा पनि छुट्याउने प्रविधि छैन् । यस्ता प्राविधिक समस्या र कर छलीको समस्या समाधानका लागि करका दरमा एकरुपमा कायम गर्नुपर्ने बाध्यता रहेको स्रोतको भनाई छ । यद्यपी एसेम्बल अवस्थाका गाडी र नन एसेम्बल अवस्थाका गाडीको भने भन्सारमा छुट्टै गणना हुनेछ । गत वर्ष विद्युतीय सवारीमा कर बढाएको भन्दै आलोचना भएपछि वाट अनुसारको कर निर्धारण गरिएको थियो ।

चालु आर्थिक बर्षको बजेट जारी हुँदा पेट्रोलियम गाडी बिक्रेता र विद्युतीय गाडी बिक्रेताबीच करका दर अनुकुल बनाउन ठूलै संघर्ष चलेको थियो ।

अझै छुटेनन् चार हजार पेट्रोलियम गाडी
पेट्रोलिमय गाडीमा कर नबढ्ने पक्का भएपछि व्यसायीहरुले आइतबार गाडीको जाँचपास गरेनन् । केही संख्यामा विद्युतीय गाडी जाँचपास भए पनि पेट्रोलियम गाडी भने कम मात्रामा जाँचपास भएको छ ।

अटोमोवाइल व्यवसायीहरुको करिब चार हजार गाडी अहिले भन्सार र्याडमा थन्किएका छन् । धेरै गाडी आयात हुने भैरहवा भन्सार नाकामा अहिले एक हजार पाँच सयको हाराहारीमा गाडी छन् । सो नाकाबाट आइतबार केही विद्युतीय गाडीहरु जाँचपास भए पनि पेट्रोलियम गाडीहरु जाँचपास नभएको प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए ।

उक्त भन्सार नाकामा धेरै जसो पिकअप गाडी रहेका छन् । यस्तै, पाँच सयको हाराहारीमा विभिन्न गाडीहरु रहेका छन् । वीरगञ्ज भन्सार नाकाबाट पनि आइतबार धेरै गाडी जाँचपास भएन् । वीरगञ्ज भन्सारमा दुई हजारभन्दा बढी गाडी थन्किएका छन् । 

भन्सार र्याडमा नयाँ मोडेलका भन्दा पनि पूराना मोडेलका गाडीहरु धेरै रहेका छन् । गाडीको माग नबढ्दा पछिल्लो समय गाडी बिक्रेताहरु निराश बन्दै आएका छन् । आर्थिक मन्दीको अवस्थामा भारी कर तिरेर गाडी भित्राएर अर्थ नहुने भएकाले व्यवसायीहरुले भन्सार यार्डमा लामो समयदेखि पार्किङ शुल्क तिरेर आयातित गाडीहरु थन्क्याएर राखेका छन् । उनीहरुले थन्किएका ती गाडीहरु भित्राउन सरकारसँग सहुलियतका लागि लबिङ पनि गरेका थिए । लबिङको फल सकारात्मक आउनसक्ने आशामा व्यवसायी छन् । 

Advertisement

Advertisement