भारत भ्रमणमा जान र मोदीसँग भेट्न हतारिएका प्रम दाहाल आज दिल्ली प्रस्थान गर्दै

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार (आज) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री भएलगत्तै नयाँ दिल्ली यात्राका लागि लालयीत देखिएका उनको सपना पूरा हुने भएको हो । 

दाहाललाई स्वागत मोडमा दिल्ली नभए पनि दाहालले भने भ्रमणका लागि अनुकुल वातावरण बनाउने र कहिले घुर्की लगाउने काम गर्दै आएका थिए । प्रधानमन्त्री हुनुअघि पनि दिल्ली पुगेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दाहाललाई भेट्न अस्वीकार गरेका थिए । अहिले पनि मोदी दाहालसँग भेट्ने मुडमा नहुँदा नहुँदै पनि भ्रमण भने तय भएको छ । 

Advertisement

भारत भ्रमणकै लागि दाहालले चीनको बोआओ सम्मेलनसमेत परित्याग गरेका थिए । लिम्पियाधुरासम्मको नेपाली भूमिबाट भारतीय सेना हटाउने विषय पेचिलो बनिरहेको बेला भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमिको पनि नाम राखिएको विषय पनि थपिएको छ । 

उनको नेतृत्वको टोली दिउँसो २ः५० मा नेपाल एयरलाइन्सको नियमित उडानबाट  भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमण टोली जम्बो रहेको छ । 

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् । टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने छ ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भ्रमणका क्रममा ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने छ । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गरिने जनाइएको छ । 

Advertisement

Advertisement