सरकारी जागिर छोडेर कफी खेती रोजेका घिमिरेका दम्पत्ति कसरी बने सफल कृषि उद्यमी ?

Advertisement

काठमाडौं । विश्वमा सयभन्दा बढी मुलुकले कफी उत्पादन गर्दै आएका छन् । यीमध्ये ५० जतिमा मुख्य कफी उत्पादन हुँदै आएको छ । कफीका लागि शीतल र मन्द हावा चल्ने जलवायु भएका स्थान योग्य हुन्छ । नेपालमा पनि ओसिलो भूभागमा उच्च गुणस्तरको कफी उत्पादन हुन्छ ।  

नेपालमा कफी खेतीको प्रचुर संभावना छ भन्ने सिद्ध भइसकेको छ । एक पटक लगाएपछि लामो समयसम्म फल प्राप्त गर्न सकिने कफीको भविश्य लामो समयसम्म हुन्छ । त्यही संभावना देखेर शान्तिदेवी घिमिरे र उनका श्रीमान कफी खेतीमा लाग्ने निष्कर्षमा पुगे र स्थापना भयो नेपाल अर्गानिक कफी उत्पादन प्रा. लि. । 

Advertisement

शान्तिदेवी घिमिरेले पाल्पाको मदनपोखरास्थित फार्मबाट अर्गानिक कफी उत्पादन गर्न थालेको ३५ वर्ष भयो । उनको कम्पनी नेपालकै पूरानो र अर्गानिक कफी उत्पादनको मान्यताप्राप्त  कम्पनी पनि हो । कम्पनी दर्ता गर्नुअघि नै उनी महिला उद्यमी थिइन् । 

पाल्पाको फार्मबाट उत्पादन भएको कफी चन्द्रागिरीमा प्रशोधन, प्याकेजिङ् हुने गर्छ । कम्पनीबाट चार प्रकारको कफी  उत्पादन हुँदै आएको छ । वार्षिक ३० देखि ४० हजार किलो  कफी उत्पादन  हुने गरेको घिमिरेले बताइन् । एक किलो कफीको मूल्य एक हजार छ सयदेखि दुई हजार आठ सय रुपियाँसम्ममा बिक्री हुँदै आएको छ । 

नेपाल अर्गानिक कफीले उत्पादन गरेका कफी भाटभटेनी सुपर मार्केट, सेल्सबेरी, ठूला साना होटल, कफी सपबाट बिक्री हुने गर्छ । राजधानीभित्रका सयभन्दा बढी होटल, क्याफे र बाहिर २० वटा  स्थानबाट बिक्री हुँदै आएको छ । कम्पनीले वार्षिक चार करोड रुपियाँको कारोबार गर्दै आएको छ ।  घिमिरेको फार्ममा १२ जनाले रोजगारी पनि पाएका छन् । 

कोरोना महामारीअघि जापान,अमेरिका, कोरियाबाट महिनामा दुई पटकसम्म कफीको अर्डर आउने गरेपनि महामारीपछि आक्कल झुक्कल मात्र आउँदा घिमिरे निराश छिन् । 

कफी खेती सुरु गर्दा घिमिरे दम्पत्तिले कृषि विकास बैंकबाट तीन लाख रुपियाँ ऋण लिएका थिए । त्यसअघि दुवै जना पाल्पाको एक सरकारी विद्यालयमा शिक्षक शिक्षिका थिए । घिमिरेका श्रीमानले क्याम्पससम्मका विद्यार्थीलाई अध्यापन गराउँथे । उनी माध्यमिक तहसम्मका विद्याथीलाई  पढाउँथिन । 

कफी खेती सुरु गरेसँगै पढाउन जान बाधा पर्न थाले पछि घिमिरे दम्पत्तिले सरकारी जागिर छोडी कृषि पेशा अंगाले । घिमिरेका श्रीमानले पाल्पामा कफी महासंघ आफैले स्थापना गरेका थिए ।  

उनीहरुले कफी खेती सुरु गर्दा छरछिमेकीको निकै आलोचना पनि सहनुपरेको थियो । बाबुआमाले दुःख गरेर पढाएको काम नलाग्ने भयो समेत भन्थे । कफी खेती सुरु गर्दा  यसले के फल दिन्छ ? कस्तो स्वाद हुन्छ ? यसको फाइदा के हो ? कहाँ बिक्री हुन्छ ? भन्ने कुरा गाँउलेलाई ज्ञान नभएको घिमिरेले बताइन् । तर पछि क्रमसः सबैले यसको महत्व बुझ्न थालेको र मानिसहरु यसतर्फ आकर्षित हुन थालेको उनले बताइन् । कतै मेला आयोजना हुँदा पनि नयाँ उत्पादन भएकाले सहभागी हुने अवसर आउने गरेको घिमिरेले बताइन् ।

सुरुमा उत्पादन भएको कफीहरुलाई घरमा भएको हाँडी र कराईमा भुटेर तयार गरी प्याकिङ गरेर बिक्री गर्ने गरेको बताउँदै उनले आफूहरुको उत्पादन विशुद्धरुपमा अर्गानिक रहेको र गुणस्तरमा कुनै समस्या नरहेको दावी गरिन् । कफीले चिसो लाग्नबाट जोगाउने, उच्च रत्तmचापका बिरामीलाई राम्रो गर्ने, कफीको बोटले मानिसलाई अक्सिजन दिने घिमिरेको भनाई छ । 

नेपालमा सात हजार भन्दा बढी कफी सप खोलिएको सुनाउँदै उनले यसबाट देशमा रोजगारी सिर्जनामा समेत ठूलो योगदान पुगेको बताइन् । कफी र फलफूल एक साथ खेती गर्दै आएकी घिमिरेले फलफूलका बोटले कफीलाई आवश्यक छहारी पनि दिने र दोहोरो आम्दानी पनि दिने गरेको बताइन् । 

उद्यमी घिमिरेले आफ्नो कफी फार्ममा तालिक लिन मानिसहरु आउने गरेको बताउँदै भनिन्, ‘नेपाली बजारमा कफी उत्पादन अझै पुगेको छैन् । किसानहरुमा अझै पनि कफीको ज्ञान हुनसकेको छैन् । उत्पादन र फाइदा बेफाइदा किसानले बुझ्न सकेका छैनन् । गाँउघरमा अझै पनि कफी पिउने प्रचलन आएको छैन् । शहरी क्षेत्रमा भने बढ्दो क्रम छ ।’

कफी खेतीलाई प्रवर्द्धन गर्न सरकारीस्तरबाट पनि पहल भइरहेको बताउँदै घिमिरेले कफी विकास बोड, कफी अनुसन्धान केन्द्रले यसको उत्पादन अझ बढाउनु आवश्यक रहेको बताइन् । साना  किसानहरुबाट  प्रत्यक्षरुपका उत्पादन नबढाए नेपालमा कफी  उत्पादन संकटमा पर्ने घिमिरेको भनाई छ । 

Advertisement

Advertisement