माइक्रोसफ्ट, गुगल, फेसबुकसँग कर अशुल्न राष्ट्र बैंकमा खोलियो डलर खाता, यस्तो छ प्रक्रिया

Advertisement

काठमाडौं । डिजिटल सर्भिस ट्याक्स (डीएसटी) कर तिर्नका लागि विदेशी कम्पनीहरुले आन्तरिक राजश्व विभागको नेपाल राष्ट्र बैंकमा खोलिएको डलर खातामा रकम जम्मा गर्नुपर्ने भएको छ । 

उनीहरुलाई कर तिर्ने प्रक्रिया सरल बनाउन विभागले राष्ट्र बैंकमा अमेरिकी डलरमा खाता खोलेको हो । सरकारले पहिलो पटक डीएसटी कार्यान्वयनमा ल्याएको छ । यसमा विश्वका ठूला सामाजिक सञ्जाल र प्रविधि कम्पनीहरुले कर तिर्ने प्रक्रिया सुरु गरेका छन् । 

Advertisement

सबैभन्दा पहिले कर तिर्न ठूला करदाता कार्यालयबाट माइक्रोसफ्ट र गुगलले नेपाली स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । प्रक्रिया सुरु गरेपछि कसरी कर दाखिला गराउने ? भनेर द्धिविधामा भएपछि सहजीकरण गरिदिन आन्तरिक राजश्व विभागलाई आग्रह गरेको थियो । 

अब विदेशी कम्पनीले डीएसटी तथा मूल्य अभिवृद्धि कर (भ्याट) विभागको खातामा जम्मा गर्न सक्ने छ । यसको लागी विभागले १२००२०३–००२.००१.८४० नम्बरको खाता खोलेको छ । यो खातामा लाग्ने रकम अमेरिकी डलरमा दाखिला गर्नुपर्नेछ । जसमा कर कार्यालय, ठूला करदाता कार्यालय रहने छ । राजश्व शीर्षक भ्याटतर्फ ३३३१६ कोड नम्बर रहेको छ भने डीएसटीतर्फ ११४४५ कोड रहेको छ ।

नेपालमा विद्युतीय सेवा प्रदान गर्ने विदेशी कम्पनीहरुले अब अनिवार्य रुपमा कर दाखिला गर्नुपर्नेछ । यदि कर नतिरे ती कम्पनीहरुको कारोबार अवैध हुनेछ । नेपालमा हाल ट्वीटर, फेसबुक, युट्युब, माइक्रोसफ्ट, गुगल लगायत थुप्रै प्रविधि कम्पनीहरु क्रियाशील छन् । तर अहिलेसम्म उनीहरुले नेपालमा कर तिरेका छैनन् । 

उनीहरुको अवैध कारोबारलाई नियन्त्रण गर्न र करको दायरामा ल्याउन जनस्तरबाट दबाब रहँदै आएको थियो । सोही दबाबपछि सरकारले बाध्य भएर उनीहरुलाई करको दायरामा ल्याउने नीतिगत व्यवस्था गरेको थियो । 

Advertisement