बीमितलाई सानाभन्दा ठूलो बीमामा फाइदा छः कम्पनीहरु, आर्थिक हैसियत हेरेर मात्रै बेच्नुः प्राधिकरण

Advertisement

काठमाडौं । पछिल्लो समय ठूला बीमाभन्दा स–साना बीमाहरुमा ग्राहकहरुको आकर्षण बढ्न थालेको छ । तर, बीमा कम्पनीहरुले भने सकेसम्म ठूला बीमा किन्ने ग्राहकहरुलाई बढी लाभ मिल्ने बताएका छन् । 

ठूलाभन्दा साना बीमातर्फ मानिसहरु बढी नजिक हुनु पछिल्लो आर्थिक मन्दीको प्रभाव हुनसक्ने विज्ञहरुको विश्लेषण छ । यता नियामक नेपाल बीमा प्राधिकरणले बीमितलाई आफ्नो आर्थिक क्षमताअनुसारको बीमा गर्न दिनुपर्ने बताएको छ । आर्थिक अवस्थाअनुसार सेवाको छनौट गर्न पाउनु बीमा गर्न चाहनेहरुको अधिकारको कुरा पनि हो भन्दै प्राधिकरणले ठूला बीमा कसैले पनि दबाब दिन नहुने बताएको छ । 

Advertisement

दक्षिण एशियाका अन्य मुलुकहरुमा ग्राहकहरुले सानाभन्दा ठूला बीमा बढी खरीद गर्नेगरेको उदाहरणहरु दिँदै कम्पनीले ठूलो बीमाले कम्पनीलाई नभई बीमितलाई नै फाइदा हुने बताउँछन् । 

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले ठूला बीमा गराउँदा बीमितहरुको ठूलै जोखिम बहन हुने भए पनि उनीहरुको हैसियत हेरेर बीमा गराउनुपर्ने बताए । कर्पोरेट नेपालसँग उनले भने, ‘बीमा कम्पनीहरुले बीमितलाई ठूला बीमामा संलग्न गराउनु भनेको उनीहरुले ठूलो जोखिम बोकेसरह हो । तै पनि बीमा कम्पनीहरुले बीमितहरुलाई दिने भनेको उनीहरुको आवश्यकता अनुसारको साथ हो ।’ 

उनले थपे, ‘अब कसैको आर्थिक हैसियत नै अलि धेरै हुन्छ भने कसैको कम हुनसक्छ । त्यसैले बीमा कम्पनीहरुले बीमितको आर्थिक हैसियत हेरेर मात्रै बीमा बेच्नुपर्छ । अहिले ठूलो बीमा गर्ने, भोलि नियमितरुपमा बीमाशुल्क बुझाउन सकेन भने बीमितलाई नै घाटा हुन्छ ।’  

पौडेलले बीमितको आर्थिक हैसियत हेरेर बीमा गराउँदा बीमितले दाबी भुक्तानी पाउने बेलासम्म कुनै समस्या नआउने बताए । उनले जुन बीमालेख बिक्री हुन्छ, त्यसलाई नै कम्पनीहरुले बेच्नुपर्छ भन्दै नबिक्ने बीमालेखहरुमा पनि केही परिमार्जन गर्नु आवश्यक रहेको बताए । साथै, पौडेलले बीमा कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धिका लागि बीमालेखको मोडेलमा समेत थोरै हेरफेर गर्न सके ठूलै परिवर्तन आउने बताए ।

दश प्रतिशतले लघुबीमा बढ्दा, ५० प्रतिशतले घट्यो ठूला बीमा
​जीवन बीमा व्यवसायमा गत बर्षको तुलनामा यस पटक एक वर्षमा सावधिक जीवन बीमामा ११ प्रतिशतले वृद्धि भएको अवस्था छ । बालबालिकाहरुको सावधिक जीवन बीमा आठ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीसम्बन्धी बीमा ८० प्रतिशतले बढेको छ ।

लघुबीमा व्यवसाय भने १० प्रतिशले घटेको छ । एकल बीमाशुल्क सिङ्गल प्रिमियम पोलिसि करिब ५० प्रतिशतले घटेको छ । आजीवन बीमाको व्यवसाय ११ प्रतिशतले घटेको छ । अग्रिम भुक्तानी जीवन बीमा चार प्रतिशतले घटेको छ । रुपान्तरित सावधिक जीवन बीमा दुई प्रतिशतले घटेको छ । यसरी तथ्यांगत रुपमा हेर्दा पनि ठूला बीमाभन्दा साना बीमामा नै ग्राहकहरुको आकर्षण बढेको देखिन्छ ।

आर्थिक मन्दीको विषम अवस्थामा ग्राहकहरुले सकेसम्म आफूले धान्नसक्ने बीमा गर्नुपर्ने देखिन्छ । जीवन बीमाको मुख्य सिद्धान्त नै मानिसको जीवन रहँदा र नरहँदा आर्थिक लाभ दिने भन्ने हो । तर, त्यसरी लाभ दिलाउँदा व्यक्तिले जहिले पनि लाभांश बढोस् भन्ने इच्छा व्यक्त गर्ने गरेको अधिकांश बीमा कम्पनीका कर्मचारीहरुले सुनाउने गरेका छन् । 

Advertisement

Advertisement