विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड छैटौं पटक केटु हिमाल आरोहण गर्दै

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटुको छैटौं पटक आरोहण गर्ने भएका छन् । उनले यसअघि पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । 

यस पटक पुनः आरोहण गरी शेर्पाले आफ्नै रेकर्ड तोड्न लागेका हुन् । पाकिस्तानमा रहेको केटु हिमालको आरोहण गर्न पाकिस्तान पुगेका उन अहिले आधार शिविरतर्फ प्रस्थान गरेको कपोरेट नेपाललाई जानकारी दिए । 

Advertisement

शेर्पाले पाँचौं पटक आरोहणको क्रममा गिनिज वर्ल्ड रेकर्डमा तीन वटा विधामा नाम लेखाउन सफल भएका छन् । उनले गत वर्षको सिजनमा केटु हिमाल पाँचौं पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोडेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए भने केटु विन्टर एक्स्पिडिशन (जाडो याममा आराहण गरेको) र सबैभन्दा छिटो सगरमाथा र केटु शिखरमा पुगेका थिए । 

शेर्पाले तीन वटा गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र समेत प्राप्त गरिसकेका छन् । साथै, उनले केटुको चुचुरोमा १४ घण्टा २२ मिनेटमा पूरा गरी केटु स्पीड ब्रेकर च्यालेन्ज पनि पूरा गरेका थिए । शेर्पाले आफनो छैटौं पटक केटु हिमाल आरोहणमा ‘क्लिन एज यू गो’ र ‘लिभ नो ट्रेक्स पोलिसि’ अभियान पनि चलाउन लागेको जानकारी दिए । 

उनी भन्छन्, ‘कुनै पनि एक जना व्यक्तिले मात्र केही गरेर सफल हुन्न त्यसमा समुह नै मिलेर लाग्नुपर्छ । जस्तै, हिमाल सफा गर्ने कुरामा पनि हामी सम्पूर्ण आरोहीहरु नै मिलेर लाग्र्नुपर्छ । एक जनाको टिमले मात्र हिमाल सफा गर्दा सफा हुँदैन, सबैले यसमा जिम्मेवारीपूर्वक लाग्नुपर्छ । हामी आरोहीहरुले पनि यस कुरामा ध्यान दिनुपर्छ र जिम्मेवारीहरु लिएर हिमाल सफा गर्नुपर्छ ।’ 

उनले थपे, ‘हिमालमा रेकर्ड राख्ने थलो बनाएर मात्र हुन्न, हिमाल सफा गर्नमा सबैको ध्यान पुग्नुपर्छ । हिमाल सफा राख्न सबैको ध्यान जानुपर्छ । म लगायतको टिमले यसअघि मनास्लु, सगरमाथा, ल्होत्सेलगायत हिमाल सफा गरेको थियो । यस पटक मेरो टिम केटु हिमाल सफा गर्न लागिपरेको छ ।’

Advertisement

Advertisement