पोखरामा नेपाल-चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव सुरु (फोटो फिचरसहित)

Advertisement

पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल-चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । 

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै मन्त्री किराँतीले नेपाल–चीनको सम्बन्धलाई बलियो बनाउन यो प्रतियोगिताले सहयोग पुग्ने बताए । 

Advertisement

प्रतियोगितामा चिनियाँ चार र नेपाली चार टोली सहभागी छन् ।

उक्त अवसरमा नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले चीनबाट धेरै मात्रमा पर्यटकहरु आउने गरेको र आगामी दिन अझ बढी चिनियाँ पर्यटकहरु नेपाल आउने अपेक्षा गरेको बताए । 

यो महोत्सव दक्षिण एशियाकै पहिलो भएको दाबी गरिएको छ । फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर,  चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नारा ड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन कनेट टोली नेपाल र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठ वटा बोट रेश प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा प्रयोग गरिने बोट चीनबाट ल्याइएको हो । प्रतियोगिताका लागि चाहिने सामग्री पनि चीनबाट ल्याइएको थियो । उक्त सामग्री केरुङ नाका हुँदै भित्र्याइएको थियो । 

बुधबार चीनको लिङ्जी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट आएका छन् । नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले उक्त आयोजना गरिएको  हो । गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

फेवातालमा दुइसय र पाँचसय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए । ‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुङ्गा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् । निर्धारित दूरी सबैभन्दा अघि पार गर्ने टोली विजेता बन्छ ।

प्रतियोगितामा विजेता हुने दुवै विधाका टोलीलाई जनही रु पाँच लाख ५० हजारका दरले  पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टोलीका लागि रु ३० लाख पुरस्कारको व्यवस्था छ ।

बोट रेस चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनका अनुसार पोखराको पर्यटनलाई थप चलायमान बनाउन यसले मद्दत पुग्नेछ । बोट रेस र महोत्सवमा सहभागिताका लागि चिनियाँ टोली चार्टर उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । रेसका लागि चीनको केरुङ नाका हुँदै आठ विशेष खालका डुङ्गा, अन्य आवश्यक सामग्री र बोट रेस प्रशिक्षक जेठ अन्तिम सातादेखि पोखरा आएर अभ्यास गरेका थिए ।

नेपालको पर्यटनमा चीन मुख्य पर्यटकीय स्रोत बजार पनि हो । कोभिड १९ अघि नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढि पर्यटक आउने मुलुकमा चीन थियो । अहिले कोभिडपछि यो संख्या घटेता पनि सन् २०२३ को मे महिनामा नेपाल आउने पर्यटकमा भारत अमेरिकापछि चीनको तेस्रो स्थानमा छ । मे महिना ४६६७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

Advertisement

Advertisement