ठूला कम्पनीले लघुबीमाको काम गर्न नसकेपछि लघुबीमा कम्पनी ल्याउनुपर्योः प्राधिकरण

Advertisement

काठमाडौं । पूराना तथा ठूला बीमा कम्पनीहरुले आफ्नो व्यवसाय खोस्न लघुबीमा कम्पनीहरु ल्याएको आरोप लगाइरहँदा नेपाल बीमा प्राधिकरणले भने लघुबीमाको छुट्टै महत्व रहेको र आवश्यकताका आधारमा ल्याएको दावी गरेको छ । 

लघुबीमा कम्पनीहरुले आफ्नो व्यवसायमा ठूलो धक्का दिने पूराना कम्पनीहरुले आशंका गर्दै आएका छन् । यता प्राधिरकणले भने लघुबीमाले ठूला कम्पनीहरुकै बजारीकरणमा मद्दत गर्ने तर्क गर्दै आएको छ ।

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘हामीले ठूला बीमा कम्पनीहरुलाई पनि लघुबीमा गर्न निर्देशन दिएका थियौं । उनीहरुलाई १० प्रतिशत व्यवसाय अनिवार्य रुपमा गर्न निर्देशन दिएर जिल्ला पनि तोकेका थियौं । तर, जम्मा दुई प्रतिशत मात्रै लघुबीमा भएको तथ्यांक पाएपछि लघुबीमाको काम गर्न छुट्टै कम्पनी स्थापना गरेका हौं ।’

प्राधिकरणले गार्डियन माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र केस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिइसकेको छ भने अरु तीन वटालाई दिने क्रममा छ । हाल लघुबीमा कम्पनीहरु क्षेत्रीयस्तरमा केन्द्रित गरेर स्थापना गरिएका छन् । 

हाल जीवन बीमा कम्पनीहरुले जम्मा पाँच लाख रुपियाँँसम्मका जीवन बीमालाई प्राथमिकतामा राख्नुपर्ने व्यवस्था गरिएको छ भने निर्जीवन बीमातर्फ ५० लाख रुपियाँसम्मको बीमा गर्न सकिन्छ ।  

कृषि कर्ममा आवद्ध भएकाहरु, सीमान्तकृत वर्ग, तथा धितो राख्न नसक्ने न्यून आय भएकाहरुलाई लघुबीमाले समेट्ने प्राधिकरणले बताएको छ । त्यस्तै, हाल समूहिक जमानीमा कर्जा लिइरहेकाहरुलाई बीमामा जोड्न पहल गर्ने प्राधिकरणले बताएको छ । 

बीमा प्राधिकरणले लघुबीमा कम्पनीरुको आगामी योजनाको बारेमा सोधखोज गर्दा उनीहरुले जहाँ जहाँ बीमा कमी भएको छ, आफूहरु त्यस्तो ठाउँमा पुग्ने कार्ययोजना तयार गरेका छन् । त्यस्तै, लघुबीमा कम्पनीका कार्यालयहरु जहाँ छ, त्यही नै सीईओहरु बस्नुपर्ने नियम पनि छ । 

अन्य बीमा कम्पनीको जस्तो राजधानीमा वा शहर केन्द्रीत भएर सीईओहरुले नै बस्न नपाउने नीति लघुबीमा कम्पनीहरुलाई लगाईएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

Advertisement

Advertisement