बार्षिक ४० लाखभन्दा धेरै कमाउने ९ हजार व्यक्ति भेटिए, अधिकांश शेयर र घरजग्गा कारोबारी

Advertisement

काठमाडौं । देशभर बार्षिक ४० लाख रुपियाँभन्दा बढी कमाएर कर विवरण नबुझाउने नौ हजार करदाता भेटिएका छन् । आन्तरिक राजस्व विभागले नौ हजार करदाताहरुको सूची तयार गरेको हो ।

यो सूची आफूहरुको प्रणालीबाट निकालिएको विभाग स्रोतको भनाई छ । प्रणालीले अग्रिम कर कट्टी (ई–टीडीएस)बाट निकालेको यस सूचीमा विभिन्न कम्पनीहरुबाट ती करदाताले रकम लिएको देखिन्छ तर । तर कर कार्यालयमा भने विवरण पेश गरेको भेटिएको छैन् । यसरी बार्षिक ४० लाख रुपियाँभन्दा धेरै नाफा गरेर विवरण नबुझाउनेहरुलाई अनिवार्य रुपमा विवरण बुझाउन आग्रह समेत गरेको छ ।

Advertisement

विभागका एक कर्मचारीले कर्पोरेट नेपालसँग भने, ‘बार्षिक ४० लाखभन्दा बढी कमाएर विवरण पेश नगर्ने प्राकृतिक व्यक्तिहरु नौ हजार संख्या हाराहारीमा भेटिएको छ । यी करदातालाई विवरण बुझाउन ताकेता गर्न कार्यालयहरुलाई भनेका छौं ।’

आयकर ऐन २०५८ को दफा ९७ अन्तर्गत आय विवरण दाखिला गर्न नपर्ने शीर्षक उल्लेख छ । दफा ९७ को उपदफा २ मा उपदफा १ बमोजिम ‘जुनसुकै कुरा लेखिएको भए पनि प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा ४० लाख रुपियाभन्दा बढी आय भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्नेछ’ भनी उल्लेख गरिएको छ ।

सोही दफा लागू गर्नका लागि विभागले कार्यालयहरुलाई पत्राचार गरेको हो । बार्षिक ४० लाख रुपियाँभन्दा धेरै कमाउने प्राकृतिक व्यक्तिले आयकर ऐन २०५८ को  अनुसूची १ अनुसार कर गणना हुनेछ।

विभागले ताकेता गरे पनि यो शीर्षकबाट धेरै कर नउठ्ने विभागका कर्मचारी बताउँछन् । प्राकृतिक व्यक्तिको आयको विभिन्न स्रोत हुन्छन् । पारिश्रमिक आयमा आयकर ऐनले तोकेको स्याल्ब अनुसार कर कट्टि गर्नु पर्नेछ । यस्तै घरजग्गाबाट भएको आएमा खरिद गरेको पाँच वर्षपछि बिक्री गरेमा पाँच प्रतिशत र पाँच वर्षभन्दा कम समयमा नै बिक्री गरे ७.५ प्रतिशत अग्रिम कर तिर्नुपर्ने कानुनी प्रावधान छ । यस्तै शेयर बजारमा पनि छोटो समयमै बिक्री गरी आएको लाभमा ७.५ प्रतिशत र लामो समयपछि गरिएको बिक्रीमा पाँच प्रतिशत अग्रिम आयकर तिर्नुपर्नेछ।

यस्तै भत्ता शीर्षकको रकममा १५ प्रतिशत कर कट्टा गरिनेछ । विभागले तथ्यांकका लागि पनि विवरणको माग गरेको बताएको छ । बार्षिक ४० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने प्राकृतिक व्यक्तिहरु कति संख्यामा छन् ? सो तथ्यांक अर्थ मन्त्रालयलाई समेत काम लाग्ने भएकाले विवरण माग गरिएको हो । यो विभागको नियमित काम भएकाले करदाता डराउनु नपर्ने विभागको भनाई छ।

यदी सो विवरण पेश गर्दा लाग्नु पर्ने कर नलागेको भेटिए अनिवार्य रुपमा कर दाखिला भने गर्नुपर्नेछ। विभागले ४० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने प्राकृतिक व्यक्तिको सूची तयार गरी कर कार्यालयहरुलाई पठाइसकेको छ । विवरण पेश नगर्नेहरुमा शेयर कारोबार गर्ने प्राकृतिक व्यक्ति, चिकित्सक घरजग्गा खरिद बिक्री गर्ने व्यापारीहरु रहेका छन् ।

Advertisement