नेपालकै ठूलो मानिएको ‘सिद्ध गुफा’बारे अनौठा विश्वास र तथ्यहरु

Advertisement

काठमाडौं । ‘सिद्ध गुफा’ नेपालकै ठूलो गुफाको रुपमा चिनिन्छ । तनहुँको बन्दिपुरबाट झण्डै दुई घण्टाको पैदल यात्रामा पूर्वतर्फ रहेको यो गुफा निकै चर्चित पनि छ । 

साहसिक पर्यटनका लागि समेत प्रसिद्धि कमाएको यो गुफा हेर्न आउने पर्यटकहरुको संख्या बढ्दो क्रममा रहेको बन्दिपुरका व्यवसायीहरु बताउँछन् । सिजनमा दिनमै दुई सय भन्दा बढीसम्म आन्तरिक तथा विदेशी पर्यटकहरु सिद्ध गुफा घुम्न आउने गरेको गुफाका गाइड तथा टिकट काट्ने सानु थापाले जानकारी दिए । 

Advertisement

मंसिर, पुस, माघ, फागुन, चैत र बैशाख सिद्ध गुफा हेर्ने उपयुक्त समय हो । अरु समय खासै उपयुक्त नभएकाले कमै मात्रै  पर्यटक आउने गरेको उनले बताए । गुफाभित्र विशेषगरी सहासिक खेल र्यापलिङ (अध्यारो गुफाभित्र भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल) खेलिन्छ । गुफाको उच्चाइ ४५ मिटर र लम्बाइ ३७ मिटर छ ।  र्याप्लिङ शुरू गरिएको एक दशक भइसकेको छ । 

सिद्ध गुफा विकास समितिको अनुमतिमा आवश्यक सामग्री आफैले लगेर र्याप्लिङ गर्न सकिन्छ । गुफा भित्र गाइड चाहिए आफूले गाइड गर्ने गरेको थापाले बताए । 

समितिले गुफाभित्र जान नेपालीका लागि ५० रुपियाँ र विदेशीका लागि सय रुपियाँ शुल्क तोकेको छ । विद्यार्थीहरुलाई ५० प्रतिशत छुट रहेको छ । पहिलो पटक २०४४ चैत १३ मा स्थानीय चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर स्थानीय एक विद्यालयमा अध्यापन गर्ने विदेशी शिक्षक वारेन्ट क्वाड्रसको समूहले गुफा पत्ता लागेको थियो ।

सिद्ध गुफासम्म हाइकिङको पनि मञ्जा लिन सकिन्छ । गुफा प्रवेश गर्ने बित्तिकै भित्र चिसो महशुस हुन्छ, जसले पर्यटकलाई छुट्टै महशुस गराउँछ । थापाका अनुसार गुफामा समय समयमा साधुहरू आएर पूजापाठ तथा साधना गरी बस्छन । गुफामा शिव भगवानको विशेष पूजा गरिन्छ । साउन महिनामा बोलबमको मेला समेत लाग्ने गर्छ ।  

उनले थपे, ‘गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौं आकृति छ । कतै श्रीपेच, कतै भगवानको मूर्ति त, कतै चराचुरुङ्गी र जनावरका आकृति देख्न सकिन्छ ।’ गुफाको भित्रपट्टि ठूलो बैठक कोठा जस्तै भाग छ । गुफाको प्रवर्द्धन गर्न त्यही ठाउँमा विभिन्न संस्थाले बैठक, टेवलटेनिस प्रतियोगिता तथा साहित्य सम्मेलन जस्ता गतिविधि हुने गरेको छ । 

गुफाभित्र चमेराहरु प्रशस्तै छन् । घामको प्रकास नपर्ने भएकोले गुफाको केही भागमा छिपछिपे पानी भए पनि लेउ नलाग्ने भएकोले चिप्लो नभएको काठमाडौंबाट बन्दिपुर घुम्न पुगेका लालु तामाङले बताए । उनले आफूलाई निकै अनौठो र फरक अनुभव भएको सुनाए । 

यो गुफा अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ । सिद्ध गुफामा देवर बाबु, यतीको खोजी, लाखे भाजु जस्ता फिल्मको सुटिङ समेत गरिएको थियो । 

Advertisement

Advertisement