बीमा कम्पनीहरुमा सीईओ नियुक्तिः अरु क्षेत्रको भन्दा सम्वन्धित क्षेत्रकै अनुभवी उपयुक्त

Advertisement

काठमाडौं । बीमा क्षेत्रमा लामो समय काम गरेका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)हरुलाई नै सीईओको जिम्मेवारी दिनु उचित हुने बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।  

कर्पोरेट नेपालसँगको कुराकानीमा बीमाविज्ञ भोजराज शर्माले कम्पनीमा काम गरिरहेको दोस्रो तहको व्यक्तिलाई नै व्यवस्थापनको नेतृत्व सुम्पिँदा त्यसले कम्पनीको विकासलाई सहज हुने बताए । अन्य क्षेत्रको व्यक्तिले भन्दा बीमा क्षेत्रको आफ्नै उत्पादनले बीमा क्षेत्र राम्रो बुझेको हुन्छ भन्दै उनले डेपुटी सीईओलाई सीईओ बनाउँदा प्रतिफल राम्रो आउनसक्ने बताए । 

Advertisement

त्यस्तै, नेपाल बीमा प्राधिकरणका निर्देशक साम्बाराज लामिछानेले बीमा क्षेत्रमा बाहिरका व्यक्तिहरुलाई सीईओको जिम्मेवारी दिने कुरा त्यति सकारात्मक नभएको स्वीकार गरे । उनले विगतमा धेरै बीमा कम्पनीहरु सीईओबिहीन अवस्थाबाट गुज्रिएको स्मरण गर्दै बीमा क्षेत्रकै अनुभवी डेपुटी सीईओहरु नै सीईओ होउन भन्ने सदासयता प्राधिकरणले पनि राख्दै आएको बताए । 

लामिछानेले भने, ‘अहिलेको मात्रै अवस्थालाई हामीले हेरेर हुँदैन् । २०७५ सालको अवस्था हेर्नुभयो भने लामो समयसम्म बीमा कम्पनीहरु सीईओबिहीन अवस्थामा गुज्रिनु परेको थियो । त्यस्तै अवस्थामा बीमा क्षेत्रमा अन्य क्षेत्रकालाई ल्याएर बीमा कम्पनीको सीईओको जिम्मेवारी दिएको हो । सकेसम्म बीमा क्षेत्रमै काम गरेर सोही क्षेत्रमा भिजेर अनुभव हासिल गरेको व्यक्ति सीईओ भए हुन्थ्यो भन्ने हाम्रो पनि चाहना हो ।’

विगतमा धेरै वटा बीमा कम्पनीहरुले एकै पटक लाइसेन्स पाएको बेलामा बीमा क्षेत्रमा सीईओ अभाव हुनु अर्थपूर्ण देखिएको र सोही पद्धतीबाटै अहिले पनि बीमा कम्पनीहरुले सीईओ राख्न रुचाएको निर्देशन लामिछानेको भनाई छ ।

विज्ञ भोजराज शर्माले लामो समयसम्म बीमा क्षेत्रको ज्ञान हाँसिल गरेको र सीईओ बन्न योग्य व्यक्तिलाई नै सीईओ बनाउन प्राधिकरणले पनि भूमिका खेल्नुपर्ने बताए । उनले कस्लाई सीईओ बनाउने ? भन्ने कुरामा सञ्चालकहरुबाट चलखेल हुनसक्ने र आफ्नो अनुकुलको मान्छे राख्ने नाममा यस क्षेत्रको अनुभव नै नभएको मानिसलाई राख्दा त्यसले समग्र कम्पनीदेखि बीमितसम्मलाई प्रभावित पार्नसक्ने तर्क गरे । 

प्राधिकरणले भने आफूहरुले सीईओ नियुक्तिसम्वन्धमा निर्देशिका तयार गरेकाले सोहीअनुसार नै नियुक्ति भएनभएको हेर्दै आएको बताएको छ । निर्देशिकामा बीमा क्षेत्रमा काम गरेको व्यक्तिको हकमा पाँच वर्ष कार्य अनुभव भएको र बीमा क्षेत्रभन्दा बाहिरबाट भए १० वर्षको कार्य अनुभव हुनुपर्ने शर्त छ । निर्देशिकाले सीईओ नियुक्तिमा बीमा क्षेत्रमा काम गरेकालाई नै प्राथमिकता दिन खाजेको देखिए पनि बाहिरको व्यक्ति नियुक्ति गर्न प्रयास भने हुने गरेको छ । 

Advertisement

Advertisement