राष्ट्र बैंकले कसिलो मौद्रिक नीति अपनाउँदा अर्थतन्त्रमा समस्या आएको होः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दावी गरेका छन् । अर्थ समितिको बैठकमा मंगलबार बिहान उनले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक रहे पनि समस्यामुक्त भने भइनसकेको स्वीकार गरे । 

महतले भने,  ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन् । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’ उनले २००७ सालपछि मात्रै भौतिक विकास सुरु भएको हो भन्दै यो कालखण्डमा राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले भौतिक विकासमा धेरै पछाडि पर्नुपरेको बताए । 

Advertisement

महतले भने, ‘आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ । पूरा गरेका कुरा कम छ । यस अर्थमा असन्तुष्टि आउनु स्वभाविक हो ।’ धेरै कुरा निर्णायकरुपमा सुधार गरेर लैजानुपर्ने बताउँदै उनले अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा रहेको बताए । 

केही ठाउँमा यसले अर्थ मन्त्रालयले अगुवाइ पनि गरेको सुनाउँदै महतले सबैको समन्वय र क्रियाशिलताले समस्या न्यून गर्दै जाने बताए । उनले भने, ‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ । तर प्रगति भएको छ । राजश्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौं । प्रगति भएको छ । हामीले गत वर्षभन्दा शुन्य दशमलब ५२ प्रतिशत बढी उठाउन सक्छौं ।’ 

नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति अपनाउँदा अर्थतन्त्रमा आवश्यक मुद्रा प्रवाह हुन नसकेको मन्त्री महतको भनाई छ । उनले भने, ‘सोही कारण ब्याजदर बढ्यो । यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन् । पूँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भने जति चलायमान भएन । एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो । अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन । जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन् । गैरकर गत वर्षभन्दा ११ दशमलब ८८ प्रतिशत बढी उठेको छ ।

महतले जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौं भन्दै यसले गर्दा आगामी वर्ष राजश्व बढाउन सकिने बताए । आउँदो वर्ष अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको उनले बताए । महतले भने, ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं । समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं ।’

उनले हाम्रो क्षमताभन्दा पनि बढी हामीले सामाजिक सुरक्षामा खर्च गरेको सुनाउँदै पछाडि परेको समुदाय, ज्येष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिने गरेकाले यसबाट पछाडि फर्किन सक्ने अवस्था नरहेको बताए । महतले भने, ‘अब निर्णय गर्दा विचार गर्नुपर्छ । अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ । जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो । जसलाई आवश्यक पर्दैन्, त्यहाँ हामीले थप खर्च गर्नुपर्दैन् । यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रुपमा कार्यान्वयन गर्न सक्छौं ।’

प्रशासनिक खर्च घटाउन सबै समर्पित भएर लाग्न उनले आग्रह पनि गरे । महतले साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं भन्द्यै बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ भने । यो ठूलो बचतलाई सही ठाउँमा उपयोग गर्न सक्छौं भने स्रोत र साधनको हाहाकार नहुने बताए । 

Advertisement