कैलाश मानसरोवर जान खोज्ने झण्डै चार हजार भारतीयलाई चीनले प्रवेशाज्ञा दिन मानेन्

Advertisement

काठमाडौं । चीनले हिन्दुहरुको निकै ठूलो आस्थाको केन्द्र कैलाश मानसरोबार जान खोज्ने झण्डै चार हजार भारतीयलाई प्रवेशाज्ञा (भिसा) दिन आनाकानी गरेको छ । 

कोरोना महामारीको कारण देखाउँदै झण्डै तीन बर्ष कैलाश मानसरोबारको यात्रामा रोक लगाएको चीनले नेपालीसहितका विदेशी पर्यटकहरुलाई खुल्ला गरेको घोषणा गरे पनि भारतीय पर्यटकलाई भिसा दिन नमानेको हो । 

Advertisement

कैलाश मानसरोवर जान झण्डै चार हजार पर्यटकले आवेदन दिइसकेका छन् । तर उनीहरुले महिनौंदेखि भिसा पाउन सकेका छैनन् । भीसा नपाएपछि भारतीय पर्यटकहरु अन्योलमा परेका छन् । नेपालीहरु भने कैलाश यात्रामा गइरहेका छन् ।  

चीनले गत मे महिनाको १५ तारिखबाट भिसा दिने भने पनि पछि जुन १५ लाई समय पारेको एशोसियशन अफ कैलाश टुर अपरेटर्सका अध्यक्ष तेन्जिन नोर्बु लामाले बताए । अझै पनि भारतीयहरुलाई भिसा दिने हो वा होइन् अनिश्चित नै रहेको उनले बताए । 

लामो समयसम्म बन्द गरिएकाले नेपाल हुँदै कैलाश यात्रामा जान चाहने भारतीयहरु अहिले निकै धेरै रहे पनि चीनको अन्योलपूर्ण नीति निर्णयले गर्दा यात्रुहरु अन्योलमा परेको लामोको भनाई छ । उनले भने, ‘जुलाईको १५ तारिखबाट भारतीय पर्यटकहरुलाई पनि भिसा दिने भनेर लासाबाट कुरा आएको छ । तर खोल्ने चाहिं अनिश्चित नै छ । भारतीय पर्यटकहरुलाई कैलाश मानसरोवर जान चीनबाट प्रर्मिट चाहिं दियो । तर दिल्लीस्थित चिनियाँ दूतावासले भने भिसा दिएको छैन् । भारतीय पर्यटकहरुलाई कैलाश मनसरोबरमा जान किन चीनले रोकिरहेको छ ? बुझ्न सकिएन् ।’ 

आउँदो जुलाई १५ बाट भारतीयहरुलाई भिसा दिने कुरा आए पनि सो कुरामा विश्वास गर्न सकिने अवस्था नरहेको यात्रा व्यवसायीहरुको भनाई छ । अहिले भारतीयबाहेक नेपालीसहितका विदेशी पर्यटकहरु दैनिक पाँच सयदेखि छ सय पर्यटक कैलाश मानसरोवर यात्रामा गइरहेका छन् । लामाले भने, ‘यो संख्या थोरै हो । हामीले त अहिले दैनिक त्योभन्दा दोब्बर बढी संस्थामा पर्यटक पठाउनुपर्ने हो । जुन हिसावले पर्यटकहरुको आगमन हुनुपर्ने हो, त्यो हुन सकेको छैन् ।’ 

कैलाश मानसरोवर जान नेपालीलाई गत मे १ देखि खुल्ला गरिएको थियो । विगतमा नेपालबाट वार्षिक २० देखि २४ हजारसम्म पर्यटक पवित्र धार्मिक स्थल कैलाश मानसरोवर यात्रामा जाने गरेका थिए । तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिछ कैलाश मानसरोवर यात्रालाई ‘ब्रह्माण्डको केन्द्रमा आध्यात्मिक यात्रा’को रुपमा हेरिन्छ, जहाँ निकै ठूलो शक्ति रहेको पुष्टी समेत भइसकेको छ । 

कैलाश हिमाल छ हजार ७१४ मिटर उचाइमा रहेको छ, जुन पहाडमा भगवान शिव पार्वतीको वास रहेको धार्मिक विश्वास छ ।

Advertisement

Advertisement