काठमाडौं । ललितपुरमा बसोबास गर्दै आएकी रुपा अर्यालकी आमा छोरीले ‘आमा छोरी अचार उद्योग’ सञ्चालन गर्न थालेको दुई वर्ष भयो । रुपाकी आमा घरमा अचार उत्पादन गर्नेगर्छिन भने रुपाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिक्री गर्छिन् ।
रुपा अर्याल फरक क्षमता भएकी महिला हुन् । बैसाखीको सहारा हिंड्ने अचार बेच्न हिंड्दा चार पाङ्ग्रे स्कुटरको सहायता लिन्छिन् । स्कुटरबाट उनी काठमाडौंका धेरै ठाउँ पुग्छिन् ।
रुपा अर्यालले आफन्त र दातृ संस्थाहरुको ६० हजार रुपियाँ सहयोगमा अचारको व्यवसाय सुरु गरेकी हुन् । उनले यो व्यवसाय सुरु गर्दा कोरोना महामारी सुरु भइसकेको थियो । उक्त प्रतिकुलतामा उनले आफ्नो व्यवसाय खासै अघि बढाउन नसके पनि महामारीपछि व्यवसायलाई सुचारु गरिन् ।
घरमा एक किलो बदामबाट अचार उत्पादन सुरु गरेकी रुपा अर्यालका आमा छोरीले आफ्नो घरेलु उद्योगबाट बदाम ,माछा, मासु, तिलको छोप, मेथी, टिमुरको छोपका अचारहरु उत्पादन गर्छन् । रुपाले आफूहरुले उत्पादन गरेको अचार काठमाडौं उपत्यका बाहिर पनि बिक्री हुने गरेको बताइन् ।
उनले कुरियर गरेर हुम्ला, जुम्ला, विराटनगर, इटहरी, भैरहवालगायतका जिल्लामा अचार पठाउने गरेकी छन् । जापान, क्यानडा, बेलायत, अमेरिका जस्ता देशहरुमा पनि कोसेलीको रुपमा अचार लाने गरेको रुपाले बताइन् ।
रुपा अर्यालका आमा छोरीले उत्पादन गरेका अचारका प्याकहरु १५० देखि ५५० रुपियाँसम्ममा बिक्री हुने गर्छ । अचारपछि अरु थप परिकार पनि उत्पादन गर्ने आफूहरुको योजना रहेको उनले सुनाइन् । रुपाले यस व्यवसायबाट मासिक ३० हजार रुपियाँसम्म नाफा हुने गरेको बताइन् ।
अचार प्रायः अनलाइनबाटै बिक्री हुने गर्छ । ललितपुरको भनिमण्डलको चौरमा हरेक हप्ता मंगलबार मेला लाग्ने गर्छ । मेलामा रुपाले पनि अचारको स्टल राख्ने गर्छिन् ।
आफूहरुको अचारमा कुनै पनि रसायन नहुने र स्वास्थ्यलाई हानी गर्ने कुराको मिसावट नहुने बताउँदै उनले स्वस्थकर र गुणस्तरीय भएकाले नै आफूहरुको अचार बिक्री राम्रो भएको बताइन् । अचार उत्पादन गर्दा पानीको मिसावट नहुने रुपा अर्यालको भनाई छ । उनले पानी नमिसाउँदा छिटो बिग्रने समस्या नहुने बताइन् । रुपाले अचार छ महिनासम्म खान योग्य हुने बताइन् ।
रुपा अर्यालले व्यवसाय सुरु गर्नुअघि गैरसरकारी संस्था (एनजीओ)मा काम गर्थिन् । त्यहाँ विशेष कारणबस छोडेपछि अर्को जागिरका लागि धेरै निजी कम्पनीमा धाए पनि काम गर्न नसक्ने भन्दै फर्काइदिने गरेको सुनाइन् ।
उनले भनिन्, ‘धेरै प्राइभेट अफिस धाएँ । उनीहरुले कसैले काम गर्न सक्नुहुन्न, हामीले अरु स्टाफ राखिसक्यौं भनेर जवाफ दिन्थे । कुनै पनि अफिसले रोजगारी नदिँदा दुःख लाग्थ्यो । कतिपयले लोकसेवाको तयारी गर भन्ने । म पढाईमा कमजोर विद्यार्थी । लोकसेवामा नाम निकाल्न निकै मेहनत गर्नुपर्ने हुन्छ । काम नपाउँदा मानसिक तनाव हुन्थ्यो । पछि अचार उत्पादन गरेर जीवनयापन गरौं भनेर हामी आमा छोरी लागेका हौं ।’
जीवनमा अचार व्यवसाय गर्छु भनेर आफूले कहिल्यै नसोचेको सुनाउँदै रुपा अर्यालले आमाले साथ नदिएको भए आज सफल अचार उद्यमी बन्ने थिइन् भनिन् ।