मौद्रिक नीतिका लागि निजी क्षेत्रको सुझाव लिन पुगेका गभर्नर खुलेर बोल्न चाहेनन्

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको आउँदो आर्थिक बर्षको मौद्रिक नीतिका प्रमुख तीन संगठनले बुझाएको सुझाव लिन पुगेका गभर्नर महाप्रसाद अधिकारीले खुलेर बोलेनन् । 

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले मौद्रिक नीतिका लागि संयुक्तरुपमा बुझाएको सुझाव ग्रहण गर्ने क्रममा उनले छोटो भनाई मात्रै राखेर उम्किए । 
 
निजी क्षेत्रले संयुक्तरुपमा कार्यक्रम गरेर सुझाव दिएकोमा खुशी लागेको सुनाउँदै उनले धेरै कुरा अहिले केही नबोल्ने बताए । राष्ट्र बैंकले अहिले मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको छ । आजको कार्यक्रममा अधिकारीले मौद्रिक नीतिको विषयमा कुनै पनि धारणा राखेनन् ।

Advertisement

आफू मौद्रिक नीतिका विषयमा कुरा राख्न भन्दा पनि सुझाव लिन आएको बताउँदै उनले भने, ‘विगत वर्षहरुमा निजी क्षेत्रका संस्थाहरुले फरक फरक सुझाव दिने गरेको थियो । अहिले एकै ठाउँमा उभिएर एकै सुझाव दिनु भएको छ । यो खुशीको कुरा हो ।’

मौद्रिक नीति जारी भएपछि आफ्नो भनाई राख्ने अधिकारीको भनाई थियो । पछिल्लो समय अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र बैंकको मौद्रिक नीतिको कारण अर्थतन्त्रमा समस्या आएको भन्दै दोषारोपण गरेका कारण गभर्नर अधिकारी केही सतर्क भएका छन् । 

छोटो प्रतिक्रियामा उनले मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताए । राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भन्दै अधिकारीले मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताए । 

उनले भने, ‘सबै उद्यमी व्यवसायीको प्रतिनिधित्व गर्ने संस्थाहरु हुनुहुन्छ । उद्यमी व्यवसायिका पीर, मर्का, अफ्ठ्याराहरु एकै किसिमका नै हुनुपर्ने हो । त्यो फरक फरक किसिमले आउँदा हामीलाई पनि समावेश गर्न गाह्रो हुन्थ्यो । तर अहिले एकमुष्ट रुपमा आएका सुझावले कार्यान्वयन गर्न सहज हुनेछ । मौद्रिक नीतिका बारेमा हामी सुझाव नै संकलन गरिरहेका छौँ । यस हिसावमा हामीले प्रशस्त मात्रामा पृष्ठपोषण पाइरहेका छौँ । संस्थागत, व्यक्तिगत रुपमा पनि सुझावहरु पाइरहेका छौँ । यी सुझाव हाम्रा लागि महत्वपूर्ण र मूल्यवान छन् । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहन्छ । राष्ट्र बैंकको जिम्मेवारीबाट भाग्न सक्दैनौँ ।’

Advertisement

Advertisement