उद्यमी घरः देशभरका साना उद्यमीहरुको सहारा र नेपाल उत्पादन निर्यातको माध्यम बन्दै

ललितपुर । तीन करोडको लगानीमा सातदोबाटोमा सञ्चालित ‘उद्यमी घर’ स्वदेशी उत्पादन बिक्री गर्ने उपयुक्त थलोको रुपमा परिचित छ, जहाँ नेपालका ५० भन्दा बढी जिल्लामा उत्पादित सामग्री बिक्री बितरण हुँदै आएको छ । 
  
उद्यमी घरको ‘नेपाली मन, नेपाली पन, नेपालकै उत्पादन’ नारा बनाएको छ । उद्यमी घर दुई बर्षअघि नै सञ्चालनमा ल्याउने योजनामा थिए यसका सञ्चालक दीपक कार्की । तर विभिन्न कारणले गर्दा ढिलो भयो र छ महिनाअघि मात्रै उद्यमी घर सञ्चालनमा ल्याउन सकेको उनले बताए । 

कार्कीका अनुसार उद्यमी घरमा तीन सयभन्दा बढी उद्यमीहरु जोडिएका छन् । प्रत्यक्षरुपमा १५ जनाले रोजगारी पाएका छन् । अप्रत्यक्षरुपमा पाँच सय जनाले रोजगार पाएका छन् । जिल्लामा रहेका साना उद्यमीहरुले बनाएका तथा उत्पादन गरेका सामान उद्यमी घरले खरीद गरेर बिक्री गर्छ । 

Advertisement

उनले भने, ‘उद्यमी घरले १७ वर्षका युवादेखि ७५ वर्षका ज्येष्ठ नागरिकको उत्पादन बिक्री गर्छ । यसरी हामीले सामान खरिद गर्दा जिल्लाका उद्यमीहरुलाई केही राहत र खुशी मिल्छ । उद्यमीहरुसँग सामान लिने समयमा नै हामी हातमा पैसा दिन्छौं ।’ 

यसरी उद्यमीहरुसँग खरिद गरिएका सामग्रीहरुको १० देखि ३० प्रतिशत नाफा लिएर बिक्री गर्ने गरेको सुनाउँदै कार्कीले साना उद्यमीहरुको परिश्रमको उच्च कदर गर्दै आफूले थोरै फाइदा दिएर सामान बेच्ने काम गर्दै आएको बताए । यसबाट सानोतिनो व्यवसाय गरेर गुजारा गर्ने र आफ्नो सामान बिक्री गर्ने बजार नपाएका उद्यमीहरुलाई निकै सहज पनि भएको उनको भनाई छ । 

कार्कीले उद्यमी घर नेपाली उत्पादनको ‘लाइब्रेरी’ पनि हो । उनले उद्यमी घरबाट ठूलो संख्यामा थोक बिक्री हुने गरेको बताए । विश्व बजारमा नेपाली सामग्रीहरुको माग उच्च रहेको र बाहिरीबाट निकै माग हुने गरेको बताउँदै कार्कीले जर्मनी, अमेरिका, जापान, अस्ट्रेलिया, दुवइ, कतार लगायतका मुलुकहरुमा उद्यमी घरबाट सामान निर्यात हुने गरेको बताए । 

नेपाल घुम्न आउने पर्यटकहरुले पनि उपहारका रुपमा यस्ता हस्तकला र घरेलु उत्पादनहरु लाने गर्छन् । उद्यमी घरमा ५० रुपियाँदेखि दुई लाख ५० हजार रुपियाँसम्मका सामान बिक्रीमा राखिएका छन् । उद्योगबाट दैनिक ५० हजारदेखि एक लाख रुपियाँसम्म कारोबार हुने कार्कीले बताए । 

उद्यमी घरमा छ्वाली, बाबियो, कुशका सामान, माटोको भाँडा, नेपाली कागज, मिथिला चित्रकला, काष्ठकला, धुप, मैनबत्ति, घरायसी सरसफाइका सामग्री, जडिबुटी तथा अर्गानिक खाद्यान्न उपलब्ध छन् । त्यस्तै, थाकल, सुपारी, साल, अलैंचीका पातबाट निर्मित सामान, रेसाजन्य वस्तुका सामान, नेपाली साँस्कृतिक भेषभुषाका कपडा, खेलौना, सजावटका सामग्री, विभिन्न खाले गलैंचा, लोपोन्मुख राडी, पाखी, गुन्द्री राखिएका छन् । 

व्यवसायी कार्की व्यवसायकै सिलसिलामा देशका अधिकांश जिल्ला पुगिसकेका छन् । विभिन्न संघसंस्थामा समेत आवद्ध उनले जिल्लाहरुमा पुगेर जिविकोपार्जन, समुदायको आयआर्जन, महिला सशक्तिकरण, युवा रोजगारीका लागि काम गर्दै आएका छन् । सरकारी निकाय तथा गैरसरकारी संस्थामार्फत कार्कीले सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने, सामान उत्पादन र प्याकेजिङ सिकाउने गर्छन् । 

यसरी तालिम दिएका उद्यमीले केही समयपछि सामान उत्पादन गर्ने र त्यो सामान उचित मूल्य दिएर उनले खरीद गरिदिन्छन् । सरकारको नीति र बजारीकरण भरपर्दो नहुँदा साना उद्यमीहरुले उत्पादन गरेका सामान खेर जाने अवस्था रहेको बताउँदै कार्कीले आफूले उत्पादन गरेको सामानले बजार नपाउँदा उनीहरु छट्पटाउन अवस्था रहेको बताए । 

उनले भने, ‘उद्यमीहरुको उत्पादन हामीले नै बिक्री गर्ने बाचा गरी ढुक्कसँग उत्पादन गर्न सुझाव दिन्छौं । सोही कुरालाई ध्यानमा राखी उद्यमी घर स्थापना भएको हो । ग्रामीण क्षेत्रमा धेरै नेपाली उत्पादनको संभावना भए पनि सरकारको उपयुक्त नीतिको अभाव, प्रोत्साहन र सहजीकरणको अभाव, बजारको अनिश्चितता, लगानीको अभाव जस्ता कुराले गर्दा यो संभावनाको प्रयोग गर्न नसकिएको बताए । 

Advertisement