अर्थमन्त्री-गभर्नर तिक्तता बढ्दै, राष्ट्र बैंकको नियमनप्रति महतले यसरी पोखे आक्रोस

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको मनमुटाव बढ्दै गएको छ । उनीहरुबीचको तिक्तता सतहमा देखिन थालेको छ । 

विगत केही दिनदेखि गभर्नर महाप्रसाद अधिकारीतर्फ लक्षित गर्दै राष्ट्र बैंकको आलोचना गर्दै आएका अर्थमन्त्री महतले मंगलबार पनि कटु आलोचना गरे । उनले राष्ट्र बैंकको नियमनप्रति नै आपत्ति प्रकट गरे । उनले त्यस खालको केही नियमनको सूचना बैंकहरुबाट आफूसम्म आइपुगेको पनि बताए । 

Advertisement

नेपाल वित्तीय संस्था कर्मचारी संघले मंगलबार गरेको कार्यक्रममा मन्त्री महतले भने, ‘केही बैंकको सूचना मकहाँ आइपुगेको छ । बैंकले गलत गरेका छन् । हामीकहाँ कोलाटल बेसिस लेन्डिङ (धितोमा आधारित ऋ(ा प्रवाह) रहेको छ । धेरै व्यवसायीले किस्ता हाल्न सकिरहेका छैन्न । ब्याजदर मिलेमतोमा गर्ने, सबै कुरा मिलेमतो गर्ने कुरा सैह्य हुँदैन। तैंले पनि नबढा, मैले पनि बढाउदिन भन्ने विषयलाई मान्न सकिँदैन् ।’

महत नेपाली कांग्रेसका नेता हुन भने अधिकारी तत्कालिन नेकपा एमालेको सरकारको पालामा नियुक्त भएको गभर्नर हुन् । लघुवित्तदेखि सहकारी क्षेत्रमा ठूलो समस्या देखिएको औंल्याउँदै त्यसको नियमन राष्ट्र बैंकले गर्न नसकेको संकेत गरे । उनले ती क्षेत्रमा देखिएको समस्याको समाधान राष्ट्र बैंकले गर्नुपर्ने बताए । 

यसअघि आर्थिक क्षेत्र केही समस्यामा भए पनि अहिले सुधार आउन थालेको दावी गर्दै महतले अहिले महंगी घटेको र मौद्रिक नीति खुकुलो गर्ने बाटो खुलेको बताए । उनले राष्ट्र बैंकको मौद्रिक नीति कडा भएको पनि आरोप लगाउँदै आएका थिए । बैंकहरुले ठूला लगानीकर्तालाई मात्रै हेर्न नहुने बताए । 

उत्पादनशील छेत्रमा बैंकको लगानी बढ्न नसकेको, अनुत्पादक छेत्रमा धेरै लगानी गएको उनले बताए । महतले केही बैंकहरुले गलत गरेको बताए । 

उनले उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । निजी क्षेत्रका बैंक समेत निक्षेपकर्ताको सुरक्षा के हुने हो ? भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनर्स्थापना गर्न सफल भएको महतको जिकिर छ । उनले नेपालको वित्तीय क्षेत्रलाई नमुनाको रुपमा अगाडि बढाउन जरूरी रहेको बताए ।

पछिल्लो सुधारिएको सूचकांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्ने उनले बताए । महतले मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य हो भन्दै राष्ट्र बैंकले त्यता ध्यान दिनपर्ने बताए । 

अहिले नेपालमा बैंकर्स र उद्योगी एउटै व्यक्ति हुने प्रवृत्ति रहेको तर संसारमा यस्तो नहुने मन्त्री महतको भनाई थियो । आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति नेपालमा रहेको उनले बताए । महतले आगामी दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गर्न राष्टं बैंकलाई सुझाव दिए । 

मन्त्री महतले वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउँदै वित्तीय संस्थाले सुविधा मात्र नखोजी जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र स्वनियमनमा बस्न सके अर्थतन्त्र समेत स्वस्थ प्रतिस्पर्धाको बाटोमा जाने बताए । 

उनले ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ’ भन्दै ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्ने बताए । 

वित्तीय क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको बताउँदै महतले स्वस्थ प्रतिस्पर्धा जरुरी रहेको बताए । २०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रुपमा विस्तार भएको र बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति रहेको बताए । तर बैंक र वित्तीय संस्थाहरुले कार्यपद्धति अन्तर्राष्ट्रियस्तरको अपनाउनुपर्ने महतको भनाई छ । 

Advertisement

Advertisement