लम्किस्किन महामारी हो, दावी भुक्तानी दिन्नौंः कम्पनी, महामारी घोषणा भएको छैन्, दिनुपर्छः प्राधिकरण

Advertisement

काठमाडौं । पछिल्लो समय लम्किस्किन नामक रोगले गर्दा देशभरका पशुचौपाया प्रभावित भएका छन् । लाखौंको संख्यामा गाईभैंसी मरेका छन् भने लाखौंकै संख्यामा संक्रमित छन् । 

यसले गर्दा किसानहरुलाई ठूलो नोक्सान समेत भएको छ । सरकारले रोकथामका लागि प्रयास सुरु गरे पनि प्रभावकारी नहुँदा महामारी फैलिने क्रम जारी छ । पीडित किसानहरुले क्षतिपुर्ती माग्दै आन्दोलनमा उत्रिन थालेको अवस्था छ । आज बुधबार मात्रै पनि लम्किस्किन पीडित किसानहरुले कृषि सेवा विभाग अगाडि धर्ना दिए । उनीहरुले पशुबीमावापतको क्षतिपूर्ति दिन बीमा कम्पनीहरुले आनाकानी गरेको भन्दै आक्रोस पनि पोखेका थिए । 

Advertisement

तर किसानहरुले जति आक्रोस पाखे पनि बीमा कम्पनीहरु लम्किस्किनबाट मरेका पशुहरुको बीमा दावी भुक्तानी दिने पक्षमा छैनन् । उनीहरुले यो महामारी भएकाले महामारीको बीमा दावी दिने व्यवस्था नरहेको भन्दै तर्किन थालेका छन् । 

यता बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले भने लम्किस्किनलाई सरकारले अहिलेसम्म महामारी घोषणा नगरेकाले बीमा कम्पनीहरुले दावी भुक्तानी दिन्न भन्न नमिल्ने बताएको छ । नेपाल बीमक संघका महासचिव तथा नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खड्काले भने, ‘एकैपटक धेरै वटा पशुहरुमा एउटै रोग फैलिँदा त्यसले महामारीको रुप लिन्छ । त्यस्तो महामारीको नेपालमा मात्र होइन्, अन्य देशमा पनि बीमाले पैसा दिँदैन ।’ 

तर प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले लम्किस्किनलाई महामारी हो भनेर सरकारले अहिलेसम्म घोषणा नगरेकाले बीमा कम्पनीहरुले आफै महामारी भनेर दावी भुक्तानी दिन्न भन्न नमिल्ने बताए । उनले भने, ‘सरकारले महामारी भनेर घोषणा गरेको छैन् । गर्यो भने छुट्टै कुरा हो । नगर्दासम्म बीमा कम्पनीले बीमा दावीको भुक्तानी दिनुपर्छ । कम्पनीहरु भाग्न पाइँदैन् । 

यता, पशुपालक किसानहरुले लम्किस्किन रोग नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने, पर्याप्त भ्याक्सिनको व्यवस्था गर्नुपर्ने, कृषि प्राविधिकहरु किसानको घर घरमा पुग्नुपर्ने, पशुबीमाको पैसा पाउनुपर्ने, पीडित किसानहरुको ऋण मिनाहा हुनुपर्ने लगायतका माग अघि सारेका छन् । लम्किस्किनलाई सरकारले महामारी घोषणा गरेमा त्यसको क्षतिपूर्ति सरकारले दिनुपर्ने हुन्छ । 

Advertisement

Advertisement