मेरो स्वार्थका लागि होइन्, राष्ट्रिय आवश्यकताले जहाज किन्न खोज्या होः पर्यटनमन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीवार राष्ट्रिय सभामा उनले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए । 

किराँतीले दुर्गम क्षेत्रमा विमानस्थलहरु बने पनि त्यस क्षेत्रमा उड्ने हवाइ जहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए । दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनको भनाई छ । 

Advertisement

मन्त्री किराँतीले नेपाल वायुसेवा निगमले तीन वटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि जानकारी गराए । उनले कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने बताए । किराँतीले आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए । 

उनले भने, ‘दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरु निर्माण भएका छन् । तर त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो । त्यस क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित देखिँदैन । यसै तथ्यलाई मध्यनजर गरी नेपाल वायुसेवा निगमले तीनवटा साना जाहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ र नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन गरिसकेको छु ।’

किराँतीले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए । 

Advertisement