बीमा प्रतिष्ठानको सीईओमा बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीको नियुक्ति पक्का

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी इन्स्योरेन्स इन्ष्टिच्युट (बीमा प्रतिष्ठान)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने पक्का भएको छ । 

उनी साउन १ देखि प्रतिष्ठान सम्हालन जान लागेका हुन् ।  प्राधिकरणमा अबको कार्यकारी निर्देशक हुने पहिलो नम्बरमा रहेको सुवेदीले बीमा क्षेत्रमा योग्य जनशक्ति विकास गर्न आफू प्रतिष्ठानमा जान लागेको बताए । 

Advertisement

हालसम्म प्रतिष्ठानको सीईओमा बीमाविज्ञ भोजराज शर्मा छन् । हालका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्को बर्ष बैशाखमा अवकाश पाउँदैछन् । पौडेलको अवकाशपछि सुवेदी प्राधिकरणमै फर्किएर कार्यकारी निर्देशक हुनसक्ने संभावना प्रवल छ । 

को हुन् सुवेदी ? 
प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तत्कालिन बीमा समितिमा २०६३ साल वैशाखमा प्रवेश गरेका थिए । राजधानीको कुनै कलेजमा स्नातकोत्तर तहका विद्यार्थीलाई बीमा विषय पढाउँदै आएका उनले अब पढाउन छोडेर प्रतिष्ठानले दिने शिक्षा र तालिमलाई नै बलियो बनाउने निर्णयमा पुगेका छन् ।  

सुवेदीले स्नातकोत्तर तहकै विद्यार्थीका लागि तीन वटा बीमासम्वन्धी पुस्तक समेत प्रकाशित गरेका छन् । वि.सं. २०६१ सालमा शंकरदेव कलेजबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनले अंग्रेजी संस्करणमा लेखेका बीमासम्वन्धी पुस्तकहरु ‘स्र्टाटेजिक म्यानेजमेन्ट’ ‘बिजनेश इन्भायोरमेन्ट’ र ‘इन्डिपेन्डेन्ट इन्टरप्रेनरसिप डेभलपमेन्ट’ हुन् । सुवेदी विभिन्न अनुसन्धानसम्वन्धी प्रतिष्ठानमा समेत आवद्ध छन् । 

बीमा प्रतिष्ठानमा किन रुची ? 
प्रतिष्ठानका हालका सीईओ भोजराज शर्मा उमेर हदका कारण अवकाश हुँदैछन् । नियमानुसार ७५ वर्षभन्दा माथि प्रतिष्ठानको सीईओ बन्न मिल्दैन् । उनले आफू अब शारीरिकरुपमा पनि कमजोर हुँदै गएकाले अवकाश चाहेको प्राधिकरण नेतृत्वलाई बताएका थिए । सो ठाउँ परिपूर्ति गर्ने मौका सुवेदीलाई मिलेको छ । 

निर्देशक सुवेदीले भने आफू तीन वटा काम गर्न बीमा प्रतिष्ठान जान लागेको बताएका छन् । पहिलो उद्देश्य बीमा कलेज खोल्ने, दोस्रो भारतमा रहेका बीमाका सीपहरु नेपालमा भित्राउने र तेस्रो बीमा विषयलाई विदालय र कलेजहरुको पाठ्यक्रममा समावेश गरी देशभर फैल्याउने । प्रतिष्ठानका सीईओ हुन प्राधिकरणका अरु वरिष्ठ अधिकृतहरुले पनि रुची राखेका थिए । तर उनीहरुभन्दा वरिष्ठ सुवेदी भएकाले उनले अवसर पाए ।  

प्रतिष्ठानमा गएर काम गर्न सुवेदीले बढी नै रुची देखाउँदै आएका पनि थिए । सो ठाउँबाट बीमा शिक्षाको विकासमा केही योगदान दिन सकिन्छ भन्ने विश्वास र आत्मबल आफूमा रहेको उनी बताउँछन् । सुवेदीले थप सुविधा बिना नै प्रतिष्ठानमा काम गर्न आफू तयार रहेको पनि बताएका छन् । 

नक्सालमा कार्यालय रहेको बीमा प्रतिष्ठानमा प्राधिकरणको २२ प्रतिशत शेयर छ भने बाँकी बीमा कम्पनीहरुको रहेको छ । तर महत्वपूर्ण कुरा सुवेदी प्रतिष्ठानको सीईओ बन्दै गर्दा प्राधिकरणको निर्देशकको रुपमा गर्दै आएको जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने हुन्छ । यसरी दोहोरो जिम्मेवारी उनले सम्हाल्न सक्छन् त ? भन्ने प्रश्न पनि प्राधिकरण कै कतिपय कर्मचारीले उठाएका छन् । 

तर सुवेदीले आफूलाई छोटो समयका लागि प्रतिष्ठानको सीईओको जिम्मेवारी दिएको र आफूले बिहान पढाउँदै आएको कलेजहरु छोड्ने भएकाले समय व्यवस्थापन गर्न खासै कठिनाई नहुने बताए । 

Advertisement

Advertisement