'केही कम्पनीको बेथितिले समग्र बीमा क्षेत्र बदनाम हुनुपरेको छ'

लघुबीमा हाम्रा दुस्मन होइनन्, मिलेर बजार विकास गर्छौं: सिटिजन लाइफका सीईओ

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले छिमेकी मुलुकहरुको तुलनामा नेपाली जीवन बीमा कम्पनीहरुको बोनस दर राम्रो रहेको र अपेक्षित प्रतिफल दिन बीमा कम्पनीहरु सक्षम रहेको दावी गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पछिल्लो समय आर्थिक मन्दीको मार जीवन बीमामा पनि परेको र त्यसले बीमाको ‘फिगर’ घटाए पनि बोनस दर भने प्रभावित नहुने बताए । 

Advertisement

पौडेलले नयाँ आएका लघुबीमा कम्पनीहरु आफूहरुको दुस्मन नभई साथी भएको बताए । उनले पौडेलले नयाँ लघुबीमा कम्पनीहरुले ग्रामीण क्षेत्रमा गर्ने प्रचारप्रसारले समग्र बीमा उद्योगको दायरा बढाउन सहयोग नै गर्ने बताए । 

पौडेलले भने, ‘यसपटक वित्तीय संकटले जीवन बीमाको तथ्यांक ‘फिगर’ घट्न पुगेको अवस्था छ । तर, नयाँ आर्थिक वर्षमा भने कम्पनीहरुले नयाँ प्रोडक्ट ल्याएर बीमितहरुको आकर्षण बढाउनु पर्छ । बोनसका लागि अहिले फ्युचर बोनस प्रोभिजनिङ समेत लागू भएकोले अब बोनस दरमा पहिलेको जस्तो धेरै फेरबदल आउने अवस्था छैन् ।’ 

कुनै एउटा कम्पनीको भन्दा पनि समग्रमा सबै जीवन बीमा कम्पनीहरुले इनोभेटिव प्रोडक्ट (नवीन उत्पादन) बनाउन सकेमा त्यसको प्रभाव बजारमा झन छिट्टै पर्ने उनले बताए । पौडेलले नयाँ बीमा ऐनले कम्पनीहरुलाई प्रविधिमैत्री हुन जोड दिएकोले यसबाट आफूहरु भाग्न पाउने अवस्था नरहेको बताए । 

आधुनिक प्रविधिको प्रयोग गर्दैगर्दा बीमा कम्पनीहरुलाई नवीन र फरक खालका प्रोडक्टहरुका लागि बाटो खोल्ने अवस्था सिर्जना गर्ने उनले बताए । सीईओ पौडेलले भने, ‘सबैभन्दा मुख्य कुरा भनेको त बीमा क्षेत्रको बेथिति आगामी आर्थिक वर्षबाट रोक्कियोस् भन्ने हाम्रो चाहना हो । कुनै कुनै कम्पनीबाट कुनै कुनै प्रोडक्टमा हुने त्यस्ता बेथितिहरुले समग्र बीमा क्षेत्र नै बदनाम हुनु परेको छ । अहिले पनि पूर्णरुपमा बीमा क्षेत्रको बेथिति रोक्किएको छैन् ।’ 

उनले बीमितले अहिले पनि छोटो समयको प्रतिफलमा बढी आशा गर्दै आएको बताए । तर, बीमाको प्रतिफल १५–२० वर्षको जोखिमलाई समेत मध्यनजर गरेर लगानी गर्ने ठाउँ हो भन्दै पौडेलले यस्तो ठाउँले पक्कै पनि रिटर्न (प्रतिफल) नदिने कुरै हुँदैन् भने । उनले बीमाको गतल प्रचार पनि हुने गरेको बताए । 

सीईओ पौडेलले धेरै मानिस अझै पनि बीमाको दायरामा आउन नसकेकाले जति धेरै बीमाको दायरा फराकिलो हुन्छ, त्यति नै पूराना बीमा कम्पनीहरुलाई पनि फाइदा हुने जिकिर गरे । लघुबीमा कम्पनीहरुले ठूलो कम्पनीको भाग खोस्ने कुरालाई उनले पुनः अस्वीकार गरे । पौडेलले भने, ‘तपाईंहरुले थोरै विगत पल्टाएर हेर्नुभयो भने एकै पटक १० वटा बीमा कम्पनीहरु बजारमा आएको बेला त्यो बेलाका पूराना बीमा कम्पनीहरुको व्यवसाय ह्वात्तै बढेको थियो । अहिले पनि लघुबीमाले हाम्रो दायरा वृद्धिमा सघाउने नै छन् ।’ लघुबीमा र बीमा कम्पनीहरु बजार विकासका लागि मिलेर काम गर्नुपर्ने उनको भनाई छ । 

Advertisement

Advertisement