चुक्ता पुँजी २५ करोड भएका कम्पनीको शेयर न्यूनतम् २५० कित्ता किन्नैपर्ने नियम ल्याउने तयारी

Advertisement

काठमाडौं । साना कम्पनीको शेयरमा १० कित्ते प्रावधान हट्ने संभावना बढेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २५ करोड रुपियाँसम्म पुँजी भएका कम्पनीले आईपीओ निष्काशन गर्दा न्यूनतम् २५० कित्ता शेयर खरिद गर्नुपर्ने नियम ल्याउने तयारी गरेको छ । 

साना कम्पनीमा १० कित्ते प्रावधान हटाउने तयारी गर्न लागिएको बताउँदै सेबोनको सञ्चालक समितिका एक सदस्यले भने, ‘साना कम्पनीहरुले मिलेमतो गरी मूल्य बढाउने खेल हुने गरेको देखिएकोले यसलाई रोक्न १० कित्ते प्रावधान हटाउन खोजेका छौं । यसका लागि धितोपत्र नियमावली संशोधनको प्रक्रिया अघि बढेको छ ।’

Advertisement

उनका अनुसार थोरै कित्ताको मात्रै आईपीओ जारी गर्ने कम्पनीको कम्तिमा २५० कित्ता शेयर खरिद गर्नुपर्ने नियम बनाउँदा यो किसिमको चलखेल रोक्न सहयोग पुग्ने देखिएको छ । ती सञ्चालकले थपे, ‘दश कित्ते नियम हटाउँदा विरोध हुन्छ कि ? भन्ने प्रश्न सही हो । यो विषयमा बोर्ड सचेत छ । तर सीमित व्यक्तिले स्टकको मूल्य निर्धारण गर्न नसक्ने व्यवस्था गर्न लागिएको हो ।’

यसका लागि साना तथा मझौला कम्पनीको वर्गीकरण गरिने बोर्डले जनाएको छ । पच्चिस करोड पुँजी भएका कम्पनीको ३० प्रतिशत सर्वसाधारणाक लागि आईपीओ निष्काशन गर्दा सय रुपियाँको दरले ७५ लाख कित्ता शेयर निष्काशन हुन्छ । यदि न्यूनतम् २५० कित्ता लागू भयो भने यो शेयर जम्मा ३० हजार लगानीकर्ताले मात्रै प्राप्त गर्न सक्छन् ।

अहिले साना ठूला सबै कम्पनीको आईपीओ निष्काशन एकै प्रक्रियाबाट हुँदै आएको छ । अहिलेको व्यवस्थाअनुसार न्यूनतम् १० कित्ता खरिद गर्न सकिन्छ । एक सय रुपियाँ प्रिमियम तोकिएको शेयरको लागि एक हजार रुपियाँ भए पुग्छ । यसबाट न्यून आयस्तरका मानिसले पनि शेयर बजारमा सहभागी हुने मौका पाउने कतिपयको सकारात्मक विश्लेषण रहँदै आएको छ । 

यदि न्यूनतम् २५० कित्ता शेयर खरिद गर्नुपर्ने भएमा प्रतिकित्ता एक सय प्रिमियम तोकिएको शेयरको २५ हजार रुपियाँ पर्नेछ, जसको दोस्रो बजारमा कारोबार गर्दा पनि न्यूनतम् २५० कित्ता नै खरिद गर्नु पर्ने हुन्छ । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ परिच्छेद ४ (२१) मा न्यूनतम् आवेदन दिन सकिने शेयर कित्ता १० मात्रै रहेको छ । अब बोर्डले यो निर्देशिकालाई परिवर्तन गरी २५ करोड रुपियाँसम्म पुँजी भएका कम्पनीको हकमा छुट्टै व्यवस्था गर्न सक्नेछ।

Advertisement