नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सम्पन्न हुन अझै एक वर्ष लाग्ने, लागत पनि बढ्ने

Advertisement

काठमाडौं । यतिबेला निर्माण सम्पन्न भई यातायात सञ्चालनको तयारीमा हुनुपर्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सम्पन्न हुन अझै कम्तिमा एक बर्ष लाग्ने देखिएको छ । २०७६ कात्तिक ४ मा शिलान्यास हुँदा साढे तीन बर्षमा निर्माण सम्पन्न गर्ने भनिएको यो आयोजना सम्पन्न गर्न अझै एक बर्ष लाग्ने विभागीय मन्त्रीले बताएका छन् । 

आज सुरुङमाग निरीक्षण गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण कार्य सक्किन अझै एक वर्ष लाग्ने बताए । उच्च सरकारी कर्मचारीहरुलाई समेत लिएर सुरुङमार्ग निरीक्षण गर्न बिहानै पुगेका उनले राजधानी काठमाडौं जोड्ने यो महत्वपूर्ण आयोजना भएको बताए । सरकारले यस आयोजनाको म्याद १४ महिना थप गरेको छ । 

Advertisement

आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्न अझै २५ मिटर बाँकी रहेको छ । सुरुङमार्गमा नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेको छ । आयोजनाको काम सन्तोषजनक रहेको र एक वर्षभित्रमा यातायात सञ्चालन गर्नेगरी काम अघि बढाउने मन्त्री ज्वालाको भनाई छ । आयोजनाको लागत पनि बढ्ने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)को १६ अर्ब सहुलियत ऋण र सरकारको छ अर्ब गरी २२ अर्ब लागत अनुमान गरिएको यो आयोजनामा सरकारको सात अर्बभन्दा बढी खर्ब हुने देखिएको मन्त्री ज्वालाले बताए । 

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा सम्पन्न भएसँगै काठमाडौं आवात जावतको लागि सहजता हुने अपेक्षा गरिएको छ । मन्त्री ज्वालाले अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठूलो लाभ प्राप्त गर्न सकिने तर्क गरे । उनले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा भएका अवरोध हटाउन सहयोग गर्न आग्रह गरे । 

प्रवेश मार्गसहित पाँच किलोमिटर ५६ मिटर लामो यो सुरुङमार्ग जापानी प्रविधिमा निर्माण हुने भएकाले गुणस्तरीय र आकर्षक हुने अनुमान छ । विशेषगरी बर्खाको समयमा पहिलोका कारण सडक यातायातमा अवरोध र जोखिम बढी महशुस हुन थालेपछि सुरुङमार्गको विकल्पमा जानुपर्ने आवाज उठ्न थालेको छ । 
सुरुङ मार्गको नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । सुरुङमार्गको निर्माण अवधि सरकारले १४ महिना थप गरेको छ । 

Advertisement

Advertisement