न्युयोर्कको ‘नेपाल टि कलेक्टिभ’ अब नेपाल आएर नेपालीलाई अर्थोडक्स चिया चखाउने

Advertisement

काठमाडौं । अमेरिकास्थित न्युयोर्कमा स्थापित ‘नेपाल टि कलेक्टिभ’ले अब नेपालमा पनि आफ्नो सेवा सुरु गर्ने भएको छ ।  नेपाल टि कलेक्टिभले  सन् २०१६ देखि अर्थोडक्स नेपाली चिया अमेरिकासहित ४२ देशमा बिक्री गर्दै आएको छ । 

उक्त कम्पनीका सह–संस्थापक प्रतिक रिजालले नेपालको अर्गानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स चियाको पसल न्युयोर्कमा सुरु गरेर अहिले अमेरिका लगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको बताए । उनको टिममा निश्चल बाँस्कोटा र अमिगो खड्का पनि छन्, जसको संस्थापक बास्कोटा हुन् । निश्चिलका बुबा दीपकप्रकाश बास्कोटा पूर्वमन्त्री एवं नेपालमा चियाको व्यवसायिक अभियानको अग्रणी पनि हुन् । 

Advertisement

रिजालका अनुसार हालसम्म नेपाल टि कलेक्टिभले एक करोड कप चिया विश्वभर बेचिसकेको छ । अरु मुलुकमा विस्तार भइसकेको यस ब्राण्डलाई आफ्नो मुलुकमा ल्याउन लागिएको उनले बताए । नेपाली बजारमा आफ्नो चिया ल्याउनका लागि लागिपरेका छौं भन्दै रिजालले नेपाल टि कलेक्टिभ चिया उद्योगमा हावी रहेका पूराना तथा शोषक प्रवृत्तिका ‘सप्लाइ चेन’ (आपूर्ति प्रणाली)लाई तोड्ने अवधारणाका साथ आउने बताए । 

नेपाल टि कलेक्टिभले आफ्ना किसानलाई सिधै विश्वका ग्राहकसँग जोड्दै ग्राहक र उत्पादकबीचको दूरी छोटो पारेको उनले दावी गरे । रिजालले वालस्ट्रिटमा विभिन्न व्यवसाय स्थापना तथा विस्तार सम्मको अनुभव बटुलेका अमिगो खड्का घरेलु चियालाई विश्वव्यापी ब्राण्ड बनाउन नेपाल टि कलेक्टिभमा सह–संस्थापकका रुपमा जोडिएको बताए । 

संस्थापक बास्कोटाले भने, ‘नेपाली चियालाई विश्वव्यापीरुपमा विस्तार गर्ने परिकल्पनाअनुरुप नेपाल टि कलेक्टिभले आफ्नो सेवा नेपालमा ल्याउँदैछ । हजारौँ विदेशी ग्राहकले विशिष्ट नेपाली चियाको ताजगी र दुर्लभ स्वादहरू अनुभव गर्न पाएका भए पनि नेपालका धेरै चियाप्रेमीले नेपालले दिनसक्ने उत्कृष्ट चियाको स्वाद लिने अवसर पाएका छैनन्् । नेपाली चियालाई विश्वभर नै यसको समृद्ध र नौलो स्वादका लागि निकै प्रशंसा गरिन्छ ।’ 

विशिष्ट गुणस्तरको प्रमाणस्वरुप आफूहरुको लुज–लिफ चिया र अर्गानिक मिश्रणले १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार पाएको उदाहरण दिँदै उनले न्युयोर्क टाइम्स र फोब्समा प्रस्तुत भएसँगै नेपाली चियाको पहिचानका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग विश्वासको सम्बन्ध बनाउन सफल भएका छौं ।’

सह–संस्थापक अमिगो खड्काले अन्तर्राष्ट्रियस्तरमा जस्तै नेपाली चियाप्रेमीसँग पनि आफूहरुले सम्बन्ध बनाउन चाहेको बताए । उनले भने, ‘हाम्रो संस्कृतिमा सिटिसि चिया हावी छ । धेरै नेपाली नेपालको अर्थोडक्स चियाको वास्तविक गुण र गुणस्तरबाट टाढिएका छन् । अब नेपाली चिया जगतलाई उकासेर हाम्रो आफ्नो चियाको स्वादको प्रसंशा गर्न सिक्ने बेला आएको छ । स्कटिसहरूको स्कच, फ्रेन्चहरूको वाइन र स्विसहरूको चकलेट भने जस्तै हामी नेपालीहरूको लागि चिया नै हो ।’ 

चिया उत्पादकहरूसँग काम गर्दै नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चिया, जडीबुटीकोे मिश्रणसहितको उत्कृष्टता प्रस्तुत गर्न चाहेको खड्काले बताए । यसको चियाको सूचीमा कञ्चनजङ्घा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्ड जस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वर्ल्ड टि जस्ता दुर्लभ कालो चिया र जिब्रोमा रेशमी स्पर्शका साथै स्वादहरूको जटिलताका लागि व्यापक रूपमा प्रसंशित सेतो चियासम्म रहेको उनले बताए । 

नेपाल टि कलेक्टिभको चिया पर्यटन र टि टेस्टिङ अनुभवले नेपालका चियाप्रेमीलाई नेपाली अर्थोडक्स चियाको परिष्कृत स्वादको आनन्द लिने सो कम्पनीको भनाई छ । नेपालका विश्वपरिचित चिया पारखी र चिया निर्माताहरूसँग परिचित हुने अवसर प्रदान गर्ने खड्काले बताए । 

Advertisement

Advertisement