अहिलेसम्मकै ठूलो अवैध सुन बरामदमा एयरपोर्ट भन्सारका कर्मचारीको मिलेमतो !

Advertisement

काठमाडौं। राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको हालसम्मकै ठूलो अवैध सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभागका कर्मचारीको समेत संलग्नता हुनसक्ने देखिएको छ । 

राजश्व अनुसन्धानको टोलीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा सुन पक्रिएपछि त्रिभुवन भन्सारमा कार्यरत भन्सार विभाग, प्रहरी, अध्यागमनको युनिटहरुमाथि गम्भीर प्रश्न उठेको हो । 

Advertisement

त्रिभुवन विमानस्थलबाट हरेक दिन ठूलो परिमाणमा सुनको तस्करी हुने गरेको आशंका हुने गरे पनि सेटिङ नमिल्दाको बेलामा मात्रै कहिले काहीं मात्रै थोरै मात्रामा अवैध सुन बरामद गरेर देखाउने गरिएको थियो । यस पटक भने विमानस्थलको नियमित संरचनाभन्दा बाहिरबाट राजश्व अनुसन्धानले हस्तक्षेप गरेर सुन पक्राउ गरेको हो । 

तर पछिल्लो पटक राजश्व अनुसन्धानले हस्तक्षेप गर्दा विमानस्थलका अरु युनिटहरुमाथिको विश्वसनियतामाथि प्रश्न उठेको हो । मोटरसाइकल तथा स्कुटरको ब्रेक सु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । एक सय ६० केजी अवैध सुनबारे राजश्व अनुसन्धानले सुचना पाएपछि उसले हस्तक्षेप गरेर बरामद गरेको थियो । 

ब्रेक सुलको भन्सार जाँचपास एक भन्सार अधिकृत र नायब सुब्बा सहभागी रहेका थिए । यसमा विमानस्थलमा खटिएका प्रहरीहरुको साथ र मौनता देखिन्छ भने पक्राउ परेको सुन परिचित व्यवसायी दीपक मल्होत्राको हुनसक्ने आशंका गरिएको छ । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक कर्मचारीले भने ‘मोटरसाइकलको ब्रेक सुल भनि सामान जाँचपास भएको प्रज्ञापन पत्र भेटिएको छ अनुसन्धानलाई सहयोग गर्न हामी तयार छौं ।’

अहिले राजश्व अनुसन्धान विभागले सुन पठाउने र लिनेलाई पक्राउ गर्न टोली परिचालन गरेको छ।प्रहरीले २ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । अनुसन्धान जारी रहेकाले सुन मल्होत्राको हो वा अरुको हो ? यकिन गरेर भन्न नमिल्ने अनुसन्धान अधिकृतहरुको भनाई छ । 

राजश्व अनुसन्धानका अनुसार रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले अप्रेसन चलाएको हो । सो सुन हङकङबाट क्याथे प्यासिफिकको विमान हुँदै नेपाल भित्रिएको थियो । 

Advertisement