सीजी एग्रोटेक र दुवईको डीएमसीसीबीच सम्झौता, कफी, चिया र महको निर्यात सहज हुने

Advertisement

काठमाडौँ । चौधरी गु्रपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्री जोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने चौधरी ग्रुपले विश्वास लिएको छ । 

हालै सम्पन्न समारोहमा चौधरी गु्रपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने आशा लिइएको छ । 

Advertisement

यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदान प्रदानलाई बढावा दिने, विशेषगरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ । सीजी एग्रोटेकका प्रवन्ध निर्देशक राहुल चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल – युएईबीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने बताएका छन् । 

उनले डीएमसीसीसँग रहेको २३ हजार सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ ब्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्नेछ । डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीकाअनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले जनाएकी छन् । 

सीजी एग्रोटेक नेपालमा कृषिजन्य वस्तुको उत्पादन र बिक्री वितरण गर्दै आएको एक अग्रणी संस्था हो । यस कम्पनीले चिया, कफी र मह लगायत जडिबुटी र उत्पादनहरू निर्यात गर्दै आएको छ । हिमालयन जडिबुटीहरूको प्राकृतिक गुण जोगाउने र दिगो कृषि अभ्यासहरूलाई प्रवद्र्धन गर्ने कम्पनीको प्रतिबद्धताले सीजी एग्रोटेकलाई स्वस्थ प्रिमियम उत्पादनहरू प्रदान गर्ने कम्पनीको रुपमा स्थापित गरेको छ । 

सीजी एग्रोटेक र डीएमसीसी बीचको सहकार्यले यस क्षेत्रको कृषि व्यापारमा नयाँ आयाम ल्याउने र कृषि क्षेत्रको वृद्धिलाई सहज बनाउदै नेपाल र दक्षिण पूर्वी एशियाबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement