मौद्रिक नीतिले दुई बर्षदेखि ओरालो लागेको शेयर बजारमा सुधार आउने अनुमान

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताका अगुवाहरुले अपेक्षा गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनीहरुले मौद्रिक नीति पुँजी बजारप्रति लचिलो रहेको भन्दै यसको सकारात्मक प्रभाव बजारमा देखिने बताएका छन् । 

Advertisement

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले मौद्रिक नीति शेयर बजारका लागि सकारात्मक रहेको बताए । उनले भने, ‘सरसर्ती हेर्दा मौद्रिक नीति राम्रो छ । यस यसभन्दा बाहेकका कतिपय कुराहरु हामीले पनि निर्देशिका हेर्नुपर्ने हुन्छ ।’ 

रौनियारले पहिलो आवासीय घर कर्जा साढे एक करोड रुपियाँबाट दुई करोड रुपियाँ पुर्याउने, लघुवित्त स.स्थाहरुलाई मर्जर तथा एक्विजिसनमा अझै खुकुलो बनाउने नेपाल बाहिर गएकाहरुको हकमा पनि सुविधा थप्ने कुराले अहिलेको विषम आर्थिक अवस्था र शेयर बजारमा सकारात्मक असर पर्ने विश्वास व्यक्त गरे । 

मौद्रिक नीति हेर्ला व्याज दर घट्दै जान्छ कि भन्ने अनुमान गर्न सकिन्छ भन्दै उनले नीति कार्यान्वयनका लागि कसरी परिपत्र हुन्छ ? त्यसले पनि अर्थ राख्ने बताए । 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले यस पटकको मौद्रिक नीति शेयर बजारका लगानीकर्ताहरुको हितमा नै आएको बताइन् । उनले साबिकका वर्षभन्दा यस पटक मौद्रिक नीति सकारात्मक रहेको बताइन् । पोखरेलले शेयर कर्जा, घरजग्गा कर्जा, हायर पर्चेज कर्जाको जोखिम भारलाई पुनरावलोकन गर्ने मौद्रिक नीतिको लक्ष्यले विगत दुई वर्षदेखि घटिरहेको बजारमा सुधार आउने बताइन् । लगानीकर्तालाई यो नीतिले मलमपट्टी लगाउने उनको तर्क छ । 

शेयर लगानीकर्ता संघका कार्यवहाक अध्यक्ष ताराप्रसाद फुल्लेलले मौद्रिक नीति लगानीकर्ताहरुको लागि फलदायी नै हुने देखिए पनि आफ्ना मागहरु भने पूर्णरुपमा सम्बोधन नभएको गुनासो गरे । उनले मौद्रिक नीतिले शेयर बजारमा राहत पुग्ने भए पनि आफूहरुले माग गरेको १२ करोड रुपियाँको सिमाको विषयलाई भनेनछोएको बताए । 

मौद्रिक नीतिमा समेटिएका केही बुँदाहरूले बजारमा सकारात्मक प्रभाव पार्ने कुरामा आशा गर्न सकिन्छ भन्दै फुल्लेलले शेयर धितो कर्जा, घरजग्गा कर्जा, हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन हुने कुराले बजारमा सकारात्मक सन्देश प्रवाह हुने बताए ।

मौद्रिक नीतिको अहिले नै समीक्षा गर्ने भन्दा पनि यसको कार्यान्वयन पक्षलाई हेरेर मात्र थप प्रतिक्रिया दिन सकिने उनको भनाई छ । 

Advertisement