लाइसेन्स पाइसकेका लघुबीमा कम्पनीलाई चुक्ता पुँजी जुटाउन सकस, प्राधिकरणको ताकेता

Advertisement

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले सञ्चालन अनुमति (लाइसेन्स) वितरण गरिसकेका केही बीमा कम्पनीहरुले चुक्ता पुँजी पुर्याउन ढिलाई गर्दा कारोबार ढिलो भएको बताएको छ । 

प्राधिकरणले तोकिएको चुक्तापुँजी जुटाउन उनीहरुलाई कठिनाई परेको बताउँदै चाँडै गर्न आफूहरुले ताकेता गरिरहेको बताएको छ । प्राधिकरणका अनुसार दुई वटा लघुबीमा कम्पनीले पुँजी जुटाउन बाँकी छ । 

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले, ‘लघुबीमा कम्पनीका लागि हामीले आवेदन मागे गरेअनुसार थुप्रै आवेदन आएका थिए । तीमध्ये सात वटालाई लाइसेन्स दिने निर्णय गरेका थियौं । अहिले जम्मा चार वटा कम्पनी सञ्चालनमा आएका छन् । बाँकी रहेका तीन वटा पनि छिट्टै सञ्चालनमा आउने प्रकियामा छन् । हामीले उनीहरुको क्यापिटल प्लान मागिरहेका छौं । प्राप्त भएको छैन् ।’

लघुबीमा कम्पनीहरुलाई गएको चैतमा नै सञ्चालनमा ल्याउने प्राधिकरणको योजना भए पनि कम्पनीहरुको तर्फबाट ढिलाई भएको प्राधिकरणको भनाई छ । लघुबीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ७५ करोड रुपियाँ तोकिएको छ । 

लघु बीमाको लाइसेन्स पाएर चुक्ता पुँजी जुटाएका बीमा कम्पनीहरुमा गार्डियन माइक्रोलाइफ, नेपाल माइक्रो इन्स्योरेन्स, केष्ट माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स छन् । त्यस्तै, लिवर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले भने पुँजी जुटाउन ढिलाई गरेका छैन् । ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने केही दिनअघि मात्रै पुँजी पुर्याएको छ ।’

ट्रस्ट माइक्रो इन्स्योरेन्समा जगतबहादुर पोखरेललगायतको लगानी छ । उनी लुम्बिनी भिजन समूहका लगानीकर्ता हुन् । यस कम्पनीले लुम्बिनी क्षेत्रमा काम गर्नेछ ।

त्यस्तै, लिबर्टी माइक्रो इन्स्योरेन्समा मनिष तिमल्सिनालगायतको लगानी रहेको छ । यस कम्पनीले गण्डकी क्षेत्रमा आधारित भएर काम गर्नेछ । साथै, स्टार माइक्रो इन्स्योरेन्समा सुजन आचार्यलगायतको लगानी छ । मधेश क्षेत्रमा व्यवसाय गर्ने यस कम्पनीमा शंकर ग्रुपका सुलभ अग्रवालको पनि लगानी रहेको जनाइएको छ ।

हाल सञ्चालनमा रहेका चार वटा लघुबीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति भए पनि अन्य कम्पनीहरुको भने सीईओको पनि कुनै टुंगो लागेको छैन् । 

Advertisement