तोकेभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई टोखा नगरपालिकाले पनि कारवाही गर्ने

Advertisement

काठमाडौं । टोखा नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेका निजी विद्यालयहरुले तोकेभन्दा बढी शुल्क लिए कारवाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले यस्ता विद्यालयहरुलाई कारवाहीको तयारी गरिरहेको बेला टोखाले पनि सोही तयारी गरेको हो । 

टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले विद्यार्थी तथा अभिभावकसँग तोकिएभन्दा बढी शुल्क लिने, अनावश्यक शीर्षकमा रकम अशुल गर्ने, तोकिएबमोजिम १० प्रतिशत छात्रवृत्ति प्रदान नगर्ने सबै निजी विद्यालयलाई कारवाही गर्न पछि हट्ने बताए । 

Advertisement

टोखा नगरपालिकाबाट विद्यालयहरुमा छड्के अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसी, प्रमुख शिक्षा अधिकृत बाबुराम गौतम, शिक्षा अधिकृत धामीलगायत कर्मचारीहरु पुगेका थिए । 

निरीक्षणका क्रममा कतिपय निजी विद्यालयहरुले अभिभावकसँग नगरपालिकाले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएको पाइएको बताउँदै उनले ती विद्यालयहरु कारवाहीमा पर्ने बताए । अन्यको पनि अनुगमन भइरहेको र उनीहरुका पनि कैफियत भेटिए कारवाही हुने धामीले बताए । 

नगरपालिकाले सुचना पनि निकालेर नियम पालना नगर्नेहरुलाई कारवाही गर्न लागिएको स्पष्ट पारिएको छ । सुचनामा टोखा नगरपालिकाभित्र ८१ वटा संस्थागत (निजी), नौ वटा सामुदायिक र तीन वटा वैकल्पिक विद्यालय रहेको, तीमध्ये २५ वटा निजी विद्यालयहरुमा छड्के अनुगमन भइसको, यस्ता निजी विद्यालयहरुले कक्षा ११ को नतिजा समयमै प्रकाशन नगरेको, विद्यालयमा विद्यार्थीमैत्री वातावरण नबनाएको, बढी शुल्क लिएर अभिभावकसँग विवाद गरेको पाइएकोले उनीहरुलाई कानुनी कारवाही गर्न लागिएको उल्लेख छ । 

साथै, उनीहरुले अटेर गरी  शैक्षिक सत्र २०८० को शुल्क प्रस्ताव पेश नबुझाएको, मन्टेश्वरी सञ्चालनका लागि अनुमति लिएर कक्षा ३ सम्म सञ्चालन गरेको, वातावरणीय सरसफाई नभएको, विद्यार्थीका लागि डेस्क र बेन्चको व्यवस्था नभएको, तहअनुसार योग्यता प्राप्त शिक्षा नभएको, विज्ञान प्रयोगशालाका सामग्रीहरु प्रयोगमा आउने अवस्था नरहेको जस्ता समस्या , मन्टेश्वरी कक्षाको अनुमति  लिई नगरपालिकामा अभिलेखीकरण नगरेको धामीले बताए । 

Advertisement