‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु’ नामक पुस्तक विमोचन

Advertisement

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने सम्भावित वस्तुहरु समावेश गरिएको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु’ नामक पुस्तक विमोचन भएको छ । 

बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यसचिव बैकुण्ठ अर्याल, परराष्ट्रसचिव भरतराज पौड्याल, उद्योग बाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेल, सिविफिनका अध्यक्ष पवन गोल्याण, नेपाल उद्योग बाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले पुस्तक विमोचन गरेका हुन् । 

Advertisement

नेपालका निर्यात संभावना भएका १० उत्पादनबाट नेपालले लिनसक्ने लाभलाई विश्व अर्थतन्त्र र नेपालको परिस्थितिसँग मूल्यांकन गरेर पुस्तक तयार गरिएको हो । गोपाल तिवारी, उत्तमप्रसाद गौतम तथा कृष्ण बजगाइँको पहलमा तयार पारिएको यो पुस्तक निर्यात व्यापार गर्नेदेखि विभिन्न देशका नेपालका राजदूत तथा दूतावासमा काम गर्ने कर्मचारी, सम्वन्धित क्षेत्रका सरकारी निकाय अधिकारीहरुका लागि बढी उपयोगी हुने बताइएको छ । 
 
कार्यक्रममा अध्यक्ष गोल्याणले नेपालका मौलिक उत्पादनमा आधारित भएर १० वर्षे तथ्यांक समावेश गरी पुस्तक तयार गरिएको बताउँदै खस्किँदो अर्थतन्त्र र रेमिट्यान्समा निर्भर आर्थिक अवस्थाको बारेमा पुस्तकमा चित्रण गरिएको बताए । उनले नेपालमा वन पैदावार र जडीबुटीको अथाह सम्भावना भए पनि त्यसको उचित प्रयोग हुन नसकेको उदाहरण दिँदै विशेषगरी साना साना तथा घरेलु उद्योगहरु, बढी मूल्य अभिवृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्न नसकेको बताए । 

गोल्याणले विशेष आर्थिक क्षेत्रमा अटोमोवाइल कम्पनीहरुलाई भन्दा गार्मेन्ट जस्ता उद्योगहरुलाई स्थान दिन सरकारले नसकेको बताउँदै विदेशमा रहेका नेपालका राजदूतहरुले ब्राण्ड एम्बासडर भएर काम गर्न सक्नुपर्ने बताए । 

Advertisement

Advertisement