हिमालय एयरलाइन्सका ‘क्याविन क्रु’माथि चर्को शोषण र विभेद, तर बोल्न निषेध

Advertisement

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय उडान गर्ने मुख्य दुई वायुसेवा संस्था छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगममा काम गर्ने विमान परिचालिका (एयर होस्टेज)ले गर्नुपर्ने कामको लोडभन्दा निजी क्षेत्रको हिमालय एयरलाइन्समा काम गर्ने विमान परिचालिकाहरुको लोड निकै धेरै हुन्छ । 

तर सेवा सुविधामा भने नेपाल वायुसेवामा काम गर्ने विमान परिचालिकाको तुलनामा हिमालय एयरलाइन्समा काम गर्नेको बीच ठूलो अन्तर देखिन्छ । आफूहरुमाथि ठूलो शोषण भए पनि हिमालय एयरलाइन्सका चालक दलका सदस्य (क्याविन क्रु) बोल्न सक्दैनन् । बोल्नासाथै कारवाही गर्ने, मानसिक दबाब दिने र काम छोड्न बाध्य  बनाउने अवस्था रहेको एक पीडितले सुनाइन् । 
 
एक विमान परिचालिकाले भनिन्, ‘हामीलाई रातिको २ बजे पनि ड्युटीमा खटाइन्छ । गन्तव्यमा गएर फर्किंदा कहिले राति पनि हुन्छ । शरीर थकित भएको हुन्छ । घरमा गएर रेष्ट गर्छु भन्न पाइँदेन् । राति नै फेरि उठेर ड्युटी जानुपर्छ । यस्तो हुँदा साइकोलोजिकल्ली कति डिष्ट्रब हुन्छ ? तर सेवा सुविधा हेर्नुभयो भने अरु अन्तर्राष्ट्रिय एयरलाइन्स त छोडिदिनु, नेपाल एयरलाइन्सको जति पनि छैन् । बोल्न केही पाइँदैन् ।’

Advertisement

आरामको लागि न्यूनतम् अवसरसमेत समेत नदिएर आफूहरुलाई ड्युटीमा खटाउने गरेको हिमालय एयरलाइन्सका विमान परिचालिकाहरुको गुनासो छ । ती विमान परिचालिकाले थपिन्, ‘म्यानपावर नै थप्न खोज्दैन् कम्पनी । थोरै भएपछि भएकोलाइै नै धेरै खटाउनुपर्यो । लेडिजको धेरै खालको समस्या हुन्छ । जेसुकै होस्, जतिसुकै बेला बोलाओस्, ड्युटीमा जानुपर्छ ।’ 

यता नेपाल वायुसेवामा काम गर्ने विमान परिचालिकाको सेवा सुविधा भने आकर्षक नै देखिन्छ । उनीहरुले पाउने मासिक तलब सुविधा दुई लाखको हाराहारीमा छ । उडानमा जाँदा उनीहरुले भत्ता आउँछ । एक विमान परिचालिकाले भनिन्, पाँच तहको गाउण्ड स्टाफ र अरु स्टाफहरुले जति तलब सुविधा पाउँछ, हामीले पनि त्यति नै पाउने हो । हरेक उडानमा जाँदा भत्ता पनि हुन्छ । हाम्रोमा कस्तो छ भने कोही यदि आज एउटाको मलेशिया अथवा अरु कुनै गन्तव्यमा जाने तालिका छ भने दिउसो जाने कि साँझा जाने कि ? मिलाएर जान पाउँछ । एउटाको समस्या भयो भने मिलाएर अर्को पनि जान पाउँछ । त्यस्तो हार्ड एण्ड फाण्ट छैन् ।’

नेपाल वायुसेवा निगमका विमान परिचालिकाले हरेक उडानमा आउँदा जाँदाको छुट्टा छुट्टै भत्ता हुन्छ । बाहिर बस्नुपर्दाको पनि छुट्टै आकर्षक भत्ता हुन्छ । हिमालय एयरलाइन्समा यस्तो सुविधा नगन्य छ । नेपाल एयरलाइन्समा क्षेत्र हेरेर भत्ता तोकिएको छ, जुन डलरको मूल्यअनुसार उनीहरुलाई मिल्दछ । उनीहरुलाई वर्षको १२ दिन सियल बिदा, १२ दिन एसियल (क्याजुअल लिभ), १२ दिन बिरामी बिदा, एक महिनाको एनुअल (बार्षिक बिदा) मिल्छ । यस्तो सुविधा हिमालय एयरलाइन्सका विमान परिचालिकाले पाउँदैनन् । यसरी हेर्दा नेपाल एयरलाइन्सका विमान परिचालिकाहरुले महिनामा २० देखि बढीमा २२ दिन मात्रै काम गर्छन् । तर हिमालय एयरलाइन्समा २५ दिनभन्दा बढी काम गर्नुपर्ने बाध्यता छ । 

नेपाल वायुसेवामा काम गर्ने क्रममा लडेर वा उडानको बेला दुघटना भएर घाइते भई घरमा बिदामा बस्दा पनि तलब सुविधा मिल्छ । बीमा पनि गरेको हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको उडान तालिका (घण्टा) अनुसार नै नेपाल वायुसेवा निगमले आफ्ना क्याविन क्रुलाई काममा खटाएको देखिन्छ । तर हिमालय एयरलाइन्समा त्यो स्थिति नभए पनि प्राधिकरण मौन देखिन्छ । हिमालय एयरलाइन्समा चिनियाँ लगानी भएकाले पनि प्राधिकरणले विमान परिचालिकाहरुमाथि भइरहेको शोषण र विभेदबारे बोल्न आँट नगरेको हुनसक्ने देखिन्छ । 

नियमअनुसार क्याबिन क्रुलाई दिनमा १२ घण्टा उडान अर्थात १४ घण्टाभन्दा बढी ड्युटीमा राख्न पाइँदैन् । तर हिमालय एयरलाइन्सको यस्ता कुरालाई लत्याएर उड्डयन सुरक्षाको राष्ट्रिय अन्तर्राष्ट्रिय नियमलाई समेत मिच्दै आएको देखिन्छ । यस्ता कुरामा नेपाल वायुसेवा निगम चनाखो देखिए पनि हिमालय एइरलाइन्सले भने पेलेर नै आफ्ना कर्मचारीहरु ड्ुयुटीमा खटाउने गरेको हो । 

नेपाल वायुसेवाकी विमान परिचालिकाले भनिन्, ‘म मलेशिया राती उडान गएँ भने त्यही राति यता फकाउँदैन् । हामीलाई त्यहीं आराम गराउँछ । अर्को क्रुलाई फर्काउँछ । फर्किंदा १०–१२ घण्टा ड्युटीले भ्याए पनि रातिको सेवा भनेको अर्को समय हो नि । दिउसो १२ घण्टा काम गर्न सक्नुहुन्छ भने राति त्यही अनुसार क्रु मेम्बरले १२ घण्टा काम गर्न सक्नुहुन्न । हिमालयको क्रुहरुलाई अल्ली गाह्रो छ भन्ने सुनेको हो मैले पनि । त्यो त सम्वन्धित कम्पनी र क्यान (प्राधिकरण)ले हेर्ने कुरा हो ।’ 

हिमालय एयरलाइन्समा विमान परिचालिकाहरुलाई तलब सुविधा डेढ लाख रुपियासम्म दिए पनि नेपाल वायुसेवामा जति तलब र अरु सुविधा छैन् । मुख्य कुरा हिमालय एयरलाइन्समा कठोर नियम आफूहरुका लागि चुनौति बनेको क्याविन क्रुहरुको भनाई छ । बोल्न र आफ्ना समस्याहरु राख्न पटक्कै नदिने गरेको पीडितहरुको गुनासो छ । कुनै चालक दलको सदस्यलाई आज समस्या पर्यो, अर्को सदस्यलाई उसलाई साथ दिन तयार छ भने पनि नमान्दिने र मानसिक दबाबमा राखेर काममा पेलाउने गरिन्छ । 

जति घण्टाको ड्युटी छ, त्यति नै उनीहरुलाई आराम दिनुपर्छ । बर्ष र महिनामा निश्चित दिन विदाहरु दिनुपर्ने कुरालाई समेत कम्पनीले पालना नगर्ने, कम्पनीभित्रका कुनै पनि कुराहरु बाहिर लैजान पाउँदैन भनेर बारम्बार त्रसित बनाइराख्ने, राम्रो काम गर्दा, त्यसमा पनि प्रोत्साहन नदिने अवस्था रहेको पीडितको विमान परिचालिकाले गुनासो गरिन् ।  

यता नेपाल वायुसेवाका विमान परिचालिकाहरुको एउटै चिन्ता रोजगारीको सुनिश्चितताको छ । कुल विमान परिचालिकामध्ये पाँच जना मात्रै स्थायी छन् भने बाँकी १५० जना करार सेवामा छन् । सेवा सुविधा राम्रै र काम गर्न दबाब नभए पनि रोजगारीको सुनिश्चितता नहुँदा चिन्ता लाग्ने गरेको उनीहरु बताउँछन् । निगमले अहिले ४५ वर्षसम्म यस्ता विमान परिचालिकाहरुलाई राख्ने गरेको छ । नेपाल वायुसेवाकी ती विमान परिचालिका भन्छिन्, ‘४५ बर्षपछि के त ? भन्ने प्रश्न छ हाम्रो । हाम्रो जागिर भनेको जोखिमपूर्ण जागिर पनि हो । करारमा राखेर भविष्य नै अन्योल र अन्धकार जस्तो छ । उमेर भइन्जेल त काम गरिन्छ । ४५ बर्ष भएपछि भने सबैको विकल्प हुन्छ भन्ने पनि त हुन्न नि । यसैमा करियर बनाउँछु भनेर आउनेहरुलाई अन्त जान पनि गाह्रो हुन्छ । जागिर छोडेर जाने दिन हातमा शुन्य नै हुन्छ । यस कुरामा श्रम ऐनमा के छ ? मलाई थाहा छैन् । प्राइभेट एयरलाइन्स केहीमा ५५ बर्षमा रिटायरमेन्ट भन्ने पनि सुनेको छु ।’ 

Advertisement

Advertisement