घरजग्गासम्बन्धी मात्रै काम गर्ने ‘रियल स्टेट बैंक’ स्थापना गर्दैछौंः अध्यक्ष लोहनी

Advertisement

काठमाडौं। शहरी क्षेत्रमा व्यवस्थित आवास निर्माणका लागि ठूलो बैंक स्थापना हुने भएको छ । नेपाल घरजग्गा तथा आवास विकास महासंघको अगुवाईमा ‘रियल स्टेट बैंक’ स्थापना हुन लागेको हो ।

महत्वाकांक्षी योजनासहित बैंक स्थापना गर्न लागिएको महासंघका अध्यक्ष भेषराज लोहनीले बताए । उनले भने, ‘घरजग्गासँग सम्बन्धित मात्रै काम गर्नका लागि बैंक स्थापनाको प्रयास गरेका हौं । यसमा सर्वसाधरण लगानीकर्ताको समेत लगानी हुनेछ ।’

Advertisement

बैंकमा देशभर छरिएर रहेका लगानीकर्ताहरुलाई समेत समावेश गरिने बताउँदै लोहनीले बैंकमा हजारौं लगानीकर्ताको लगानी हुनसक्ने बताए । सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी हुने रियल स्टेट बैंकको पुँजी संरचनाबारे टुंगो लागिनसकेको बताए । 

अहिलेको अवस्थामा विदेशी लगानीकर्ता नेपालमा आएर घरजग्गामा लगानी गर्नसक्ने अवस्था नभएको बताउँदै लोहनीले विश्वका धेरै देशले हाउजिङमा लगानी बढाइरहँदा नेपालको सरकारले भने काम कसरी गर्ने ? भन्ने विषय नै थाहा नपाएको बताए । 

उनले उदाहरण दिँदै भने, ‘साउदी अरबले सन् २०३० सम्म निर्माण सम्पन्न हुनेगरी ठूलो हाउजिङ योजना बनाइरहेको छ, जसमा ७० लाख मानिस बस्न सक्छन् । भारतले पनि विश्वकै सबैभन्दा सुविधा सम्पन्न हाउजिङको विकास गरिरहेको छ । नेपालले पनि अब यो अवधारणामा नगई उपाए छैन् ।’

देशभरका घरजग्गा व्यवसायीको लगानी हुने भएकाले रियल स्टेट बैंक बलियो बैंक हुने र यसले धेरै घरजग्गा परियोजनामा लगानी गर्नसक्ने बताउँदै लोहनीले पूर्वाधार विकासका लागि पूर्वाधार विकास बैंक स्थापना भएजस्तै व्यवस्थित आवास निर्माणका लागि रियल स्टेट बैंक रहने बताए । यो बैंकले निक्षेप र कर्जाको काम नगर्ने बताए । तर घरजग्गाको विकास गर्नका लागि भने ऋण प्रवाह गर्नेछ । 

लोहनीले थपे, ‘ल्याण्ड पुलिङको काम राज्यले निजी क्षेत्रलाई दिनुपर्छ । निजी क्षेत्रले ल्याण्ड पुलिङको काम गर्दा व्यवस्थित शहरको निर्माण हुन्छ ।’ जग्गा वर्गीकरणमा सरकारले धेरै समय लगाएकोमा उनको असन्तुष्टि छ । 

अनलाइनबाट नै घरजग्गाको कारोबार
सरकारले लामो समयदेखि बजेटमा घरजग्गाको कारोबार कम्पनीबाट मात्रै गर्ने बताउँदै आएको छ । तर हालसम्म यसको पूर्वाधारमा कुनै पहल गरेको छैन् । शेयर कारोबार गर्ने नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) जस्तै निकाय बनाउन आवश्यक रहेको बताउँदै लोहोनीले सबै कारोबार पारदर्शी बनाउन अनिवार्य रुपमा सरकारले यस्तो निकाय बनाउनुपर्ने बताए । 

उनले भने, ‘कुनै सम्पत्ति बिक्री गर्नु पर्यो भने बिक्रेताले ब्रोकर लिन पनि सक्छ । नलिइ पनि बिक्री गर्न सक्छ । सम्पत्तिको मूल्य बिक्रेताले नै तोक्न पाउँछ । ओपन बिडिङ पनि राख्न सकिन्छ । क्लोज बिडिङ पनि गर्न सकिन्छ । बिडिङ भएन भने पुनः रकम घटाएर राख्नुपर्छ ।’ यसरी कारोबार हुँदा समग्र अर्थतन्त्रमै सकारात्मक असर पर्ने लोहनीको विश्वास छ । 

कम्तिमा यो प्रणाली महानगरपालिका र उपमहानगरपालिकामा सुरु गर्ने महासंघको योजना रहेको उनले सुनाए । महानगर र उपमहानगरमा सफल परीक्षण भइसकेपछि देशभर यो प्रणाली विकास गर्ने महासंघको योजना रहेको लोहनीले बताए ।

यो प्रणाली सुरु गर्न सकियो भने जग्गाको अवैध कारोबार रोकिने विश्वास गरिएको छ । यसले डिजिटल प्लेटफर्ममा खरिद गर्ने र बिक्री गर्नेलाई पनि सहज हुने बताउँदै अध्यक्ष लोहनीले यो योजना देशकै लागि भएको बताए । यसले अनाश्यक मूल्य वृद्धि हुने क्रम पनि रोक्किएर जाने उनले दावी गरे । 

दैनिक कति अर्बको सम्पत्ति कारोबार भयो ? यसको जानकारी पाउन यो प्रणालीबाट सहयोग पुग्ने बताउँदै लोहनीले कारोबार थैली कम राखेर कर छली गर्ने प्रथाको पनि अन्त्य भएर जाने बताए । 

Advertisement