गत आवमा नेपाली चलचित्रः कोही रु. १७ करोड ५२ लाख कमाउने, कोही रु. ५२० मात्रै

Advertisement

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९–८० मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रहरुले गरेको कमाई सार्वजनिक गरेको छ । कमाई सार्वजनिक गर्ने बोर्डको निर्णयको नेपाल चलचित्र संघले विरोध जनाए पनि कुन चलचित्रले कति कमाए ? निकै चासोको विषय बनिरहेको छ । 

बोर्डले नेपाली चलचित्रहरूको नाम, प्रदर्शन सुरू भएको मिति, बक्स अफिस कलेक्शन र टिकट बिक्री सङ्ख्या सहितको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरणमध्ये नेपाली चलचित्रहरुको कमाई निकै रोचक देखिन्छ । 

Advertisement

गत आवमा कुनै नेपाली चलचित्रले १७ करोड ५२ लाख रुपियाँभन्दा बढी कमाई गरेको छ भने कुनैले ५२० रुपियाँ मात्रै कमाई गरेको छ । गत आवमा ५७ वटा नेपाली चलचित्र सिनेमा हलमा प्रदर्शन भएको देखिन्छ । तीमध्ये सर्वाधिक कमाई गर्नेमा ‘छक्का पन्जा ४’ छ । उक्त चलचित्रले छ लाख २९ हजार ७५२ टिकट बिक्री गर्दै १७ करोड ५२ लाख १९ हजार १५९ रुपियाँ खुद आम्दानी गरेको छ । 

दोस्रो नम्बरमा चलचित्र ‘जारी’ले छ लाख १९ हजार २२१ वटा टिकट बिक्री गर्दै १७ करोड १७ लाख ९५ हजार १८ रुपियाँ पाँच पैसा कमाई गरेको छ । तेस्रो नम्बरमा रहेको ‘प्रेम गित ३’ ले दुई लाख २९ हजार ८०८ वटा टिकट बिक्री गर्दै सात करोड ७० लाख ४५ हजार ५५९ रुपियाँ कमाई गरेको छ । 

सबैभन्दा कम कमाई गर्नेमा शिवानी भन्ने चलचित्र छ । उक्त चलचित्रले ५२० रुपियाँ मात्रै कमाई गरेको छ । सो चलचित्रको टिकट बिक्री सङ्ख्या पाँच वटा मात्र छ ।

Advertisement

Advertisement