सूर्य नेपालले घोषणा गर्यो बम्बर लाभांश, तर छ अर्ब ३५ करोड विदेशी लगानीकर्ताले लाने

Advertisement

काठमाडौं। अग्रेजी आर्थिक वर्ष २०२२ को आम्दानीबाट सूर्य नेपाल प्रा.लि.ले १० अर्ब ४० करोड रुपियाँ मुनाफा वितरण गरेको छ ।

कम्पनीले लगानीकर्तालाई उक्त रकम बराबरको लाभांश वितरण गरेको रेटिङ एजेन्सी केयर रेटिङले जनाएको हो । कम्पनीमा ३९ प्रतिशत शेयर हिस्सा नेपाली लगानीकर्ताहरुको रहेको छ । कुल लाभांश वितरणबाट नेपाली लगानीकर्ताले मात्रै चार अर्ब पाँच करोड प्राप्त गरे पनि छ अर्ब ३५ करोड रुपियाँ भने बाहिरिएको छ । 
  
कम्पनीले आर्थिक वर्ष २०७८–७९ मा १० अर्ब ७२ करोड रुपियाँ कर दाखिला गर्दै सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको थियो । यो रकममा मूल्य अभि वृद्धि कर (भ्याट), आयकर पनि समावेश छ । कम्पनीले गत बर्षको कारोबारबाट २० अर्ब रुपियाँ नाफा गरेको छ । कम्पनीले सन् २०२१ मा नौ अर्ब ४१ करोड छ लाख रुपियाँ नाफा गरेको थियो । 

Advertisement

यस्तै २०२० मा नौ अर्ब ८४ करोड रुपियाँ नाफा गरेको थियो । सन् २०२१ मा कम्पनीले नौ अर्ब ४१ करोड नाफा वितरण गरेको थियो ।

केयर रेटिङका अनुसार सूर्य नेपालले अंग्रेजी आर्थिक वर्ष २०१८–१९ मा २५ अर्ब १३ करोड रुपियाँको व्यापार गरेको थियो । यस्तै २०१९–२० मा अघिल्लो वर्षभन्दा कम २४ अर्ब ४७ करोड रुपियाँको व्यापार गरेको थियो । यसैगरी, २०२०–२१ मा २४ अर्ब ४९ करोड रुपियाँको व्यापार गरेको थियो । कम्पनीले इतिहासमै गत बर्ष पहिलो पटक ४७ अर्ब ४० अर्ब रुपियाँको व्यापार गर्दै कीर्तिमान राखेको हो ।

सूर्य नेपाल सबैभन्दा कम कर विवादमा पर्ने कम्पनी हो । यो कम्पनी नेपालमा सन् १९८६ देखि सञ्चालनमा छ । विगत ३५ वर्षदेखि आकर्षक व्यापार गर्दै आएको कारण सूर्य नेपाल प्रायः प्रत्येक वर्ष पुरस्कृत समेत हुने गरेको छ । 

केयर रेटिङले कम्पनीको वित्तीय अवस्था शक्तिशाली रहेकोले दीर्घकालीन ऋण लिन नपर्ने बताएको छ । यो कम्पनीको सञ्चालकहरुमा आईटीसी लिमिटेड इन्डियाको सबैभन्दा धेरै ५९ प्रतिशत शेयर रहेको छ । यो कम्पनीको भारतमा मार्केट क्यापिटलाइजेसन नै ४०.७५ बिलियन (५३ खर्ब २१ अर्ब रुपियाँ) छ । आईटीसी भारतमा सन् १९१० मै स्थापना भएको कम्पनी हो ।

यो कम्पनीले भारतमा समेत चुरोट, अगरबत्ति, ब्रान्डेड प्याकेज फुड, शिक्षा, सेनेटरी प्रोडक्टलगायतको उत्पादन र बिक्री गर्दै आएको छ । यसैगरी, कम्पनीले होटल व्यवसाय स्टेसनरी सामान तथा प्रविधिमा समेत काम गर्दै आएको छ । कम्पनीमा राजा ज्ञानेन्द्र शाहलगायतको ३९ प्रतिशत शेयर रहेको छ भने बाँकी दुई प्रतिशत शेयर ब्रिटिस अमेरिकन कम्पनीको रहेको छ । 

सूर्य नेपालले सलाई, अगरबत्तिलगायतका सामग्री उत्पादन गर्नेगरे पनि कम्पनीको आम्दानीमा यसको योगदान निक्कै कम छ । नेपाली बजारमा एकलौटी जस्तै चुरोटको व्यापार गर्दै आएको सूर्य नेपालको उत्पादनमा सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्सरी किङ्ग, शिखर फिल्टर किङ्ग, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी चुरोट बिक्री गर्दै आएको छ ।

कम्पनीले आधिकारिकरुपमा सयभन्दा बढी वितरकहरु राखेको छ । कम्पनीका अध्यक्षमा भारतीय नागरिक सञ्जिभ पुरी छन् । केयर रेटिङले कम्पनीमा छ अर्ब २६ करोड चार लाख रुपियाँको तरलता सुविधा रहेकाले दीर्घकालीन ऋण लिन नपर्ने जनाएको छ ।

सरकारले प्रत्येक वर्ष स्वास्थ्य जोखिम कर वृद्धि गरिरहेकोले अहिले प्रिमियम चुरोटको प्रतिखिल्ली नै २० देखि २५ रुपियाँ पर्न सुरु भइसकेको छ । प्रत्येक वर्ष कर बढ्ने र चुरोटको प्याकेटमा ९० प्रतिशतसम्म स्वास्थ्यमा हानीकारक छ भन्ने विषयवस्तु उल्लेख गर्दा कम्पनी अप्ठ्यारोमा परेको छ ।

कम्पनीले प्रत्येक वर्ष कर थपिँदा चुरोट महंगो भई भारत लगायत देशबाट चोरीपैठारी हुन थालेको बताएको छ । सूर्य नेपालले बुढानीलकण्ठमा पाँच तारेस्तरको होटल पनि निर्माण प्रक्रिया अघि बढाएको छ । बुढानीलकण्ठमा ७२ रोपनी जग्गा समेत लिइएको छ । यो होटलमा छ अर्ब रुपियाँ लगानी हुने जनाइएको छ । 

Advertisement

Advertisement