एक दर्जनभन्दा बढी बीमा कम्पनी पुँजी पुर्याउन असफल, प्राधिकरणले कारवाही गर्ने आँट गरेन

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत चैत मसान्तसम्म नै बीमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्याउन समयसीमा तोकेको थियो । उक्त अवधिसम्म सबै जीवन बीमा कम्पनीले पाँच अर्ब र साधारण बीमा कम्पनीहरुले साढे दुई अर्ब रुपियाँ पुँजी पुर्याउनुपर्ने थियो । 

प्राधिकरणको निर्देशनअनुसार चुक्ता पुँजी पुर्याउन धेरै कम्पनीले मर्जरको बाटो रोजे । केहीले हकप्रद शेयर निष्काशन गरे । पछि प्राधिकरणले चैतसम्म पुँजी पुर्याउन नसकेकाहरुलाई असारसम्मको थप समय दियो । उक्त अवधिमा थप केही कम्पनी मर्जरमा गएर पुँजी पुर्याए पनि अझै केही कम्पनी पुँजी पुरयाउन असफल छन् । 

Advertisement

प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले असारसम्म चुक्ता पुँजी नपुर्याउने कम्पनीहरुलाई कडा कारबाही गर्ने पटक पटक चेतावनी दिएका थिए । साउन महिना सक्किन लाग्दासमेत उनले चुक्ता पुँजी पुर्याउन आनाकानी गर्ने कम्पनीहरुलाई कारवाही गर्न सकेका छैनन् । पुँजी पुर्याउन असफल कम्पनीहरुले अहिले भने हकप्रदमार्फत पुँजी वृद्धि गर्ने बताउन थालेका छन् । 

पुँजी पुर्याउन बाँकीमध्येको एक युनाइटेड अजोड इन्स्योरेन्सका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नविन सुवेदीले भने, ‘हामीले राइट शेयरमार्फत नै पुँजी पुर्याउने अन्तिम तयारी गरिरहेका छौं । एक त हामी बीमा प्राधिकरणको मार्गदर्शन अनुसार नै पुँजी वृद्धि गर्न मर्जरमा गइसकेको अवस्था हो । मर्जरबाट पनि केही प्रतिशत पुँजी पुग्न बाँकी रहेकोले अब त्यति धेरै समस्या हुँदैन ।’ उक्त कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपियाँ रहेको छ । उसले अब थप ६० करोड रुपियाँ पुँजी जुटाउनुपर्ने हुन्छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब १८ करोड रुपियाँ रहेको छ । सो कम्पनीका वरिष्ठ डीसीईओ राकेश पोखरेल भन्छन्, ‘अहिले हाम्रो कम्तिमा पनि १० देखि १२ प्रतिशतसम्म बोनस शेयर दिने क्षमता छ । त्यसबाट पनि नपुगेको अवस्थामा राइट शेयरमा जाने भन्ने निर्णय भइसकेको छ । राइटबाट पनि चुक्ता पुँजी नपुगेको अवस्थामा भने हामीले केही बाटो खोज्नुपर्ने हुन्छ ।’

यसरी नै मर्जरमा गएका अन्य थुप्रै बीमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्याउन हम्मेहम्मे परेको छ भने प्राधिकरण आँफै कस्तो किसिमको कारबाही गर्ने भन्ने अन्योलमा परेको देखिन्छ । 

युनाइटेड अजोड, सानिमा रिलायन्सबाहेक एशियन लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, एलआईसी नेपाल, सन नेपाल लाइफ, सिटिजन लाइफ रिलायवल नेपाल लाइफ, आईएमई लाइफ, सूर्य ज्योति लाइफ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तोकिएको पुँजी पुगेको छैन् ।  

भारतीय लगानीको एलआईसी नेपालले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति पाइसकेको छ । त्यस्तै, सन नेपाल लाइफ, सिटिजन लाइफ, रिलयबल नेपाल लाइफ र आईएमई आइफम पनि सोही पुँजी बढाउन प्रिमियम मूल्यको शेयर निष्काशनमा जुटिरहेका छन् । 

सूर्यज्योती, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफको अझै पनि चुक्ता पुँजी पुगेको छैन् । मर्जरमा जान कुनै पहल नगरेको एशियन लाइफले हकप्रद शेयर निष्काशन गर्ने भनेर समय व्यतित गर्दै आएको छ । 

Advertisement