साँसदसमेत रहेका व्यवसायी राजेन्द्र बजगाईंले आफूले शेयर बिक्री गरिसकेपछि नयाँ लगानीकर्तासँग बार्गेनिङ गर्ने, धम्क्याउने, विभिन्न निकायमा उजुरी हाल्ने जस्ता काम गरेर दुःख दिँदै आएको स्रोतले बतायो

टाइगर प्यालेसको कुनै काम अघि नबढाउन राजश्व अनुसन्धानको उद्योग विभागलाई पत्र

Advertisement

काठमाडौं। केही दिनअघि मात्रै खरीद बिक्री सम्पन्न भएको होटल टाइगर प्यालेस अर्को झमेलामा फँसेको छ । उक्त होटलसम्बन्धमा कुनै पनि काम अघि नबढाउन राजश्व अनुसन्धान विभागले उद्योग विभागलाई पत्र काटेको हो ।

लुम्बिनीमा सञ्चालित होटल टाइगर प्यालेससम्बन्धी कुनै पनि कामअघि नबढाउन अनुसन्धान विभागबाट पत्र आइपुगेको उद्योग विभागका एक निर्देशकले बताए । पत्रमा होटलको शेयर स्वामित्व वा हक हस्तान्तरणसम्बन्धी कुनै पनि काम अघि नबढाउन भनिएको छ ।

Advertisement

ती निर्देशकले भने, ‘राजश्व पत्रअनुसार हामीले शेयर खरीद बिक्री प्रक्रिया र अन्य काम अघि बढाउन मिल्दैन् ।’ केही समयदेखि राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले समेत उक्त होटलको बारेमा चासो देखाइरहेको उद्योग विभागको भनाई छ । 

टाइगर प्यालेस खरीद बिक्री गर्ने समूहहरुबीचको द्धन्द्ध र आरोपप्रत्यारोप बढ्दा विवाद नियमन निकायहरुसम्म पुगेको हो उनीहरुको विवादले गर्दा होटल र त्यहाँ कार्यरत कयौं कर्मचारीको भविश्य समेत अन्योलमा परेको छ । स्रोतका अनुसार उक्त होटलको अधिकांश स्वामित्व बिक्री गरिसकेका व्यवसायी राजेन्द्र बजगाईंले हालको मुख्य लगानीकर्तासँग बार्गेनिङ गर्ने, विभिन्न निकायमा उजुरी हालेर दुःख दिने, धम्क्याउने काम गर्दै आएका छन् । बजगाई साँसद समेत हुन् । यसअघि सांग्रिला होटलमा क्यासिनो समेत सञ्चालन गरेका उनी कांग्रेसमा लागेर पैसाको बलमा टिकट प्राप्त गरी गोरखाबाट प्रतिनिधिसभा सदस्यमा विजयी समेत हुन सफल भएका हुन् । 

स्रोत भन्छ, ‘कम्पनीलाई सुनियोजित रुपमा दुःख दिन केही व्यक्तिहरु लागिपरेको देखिन्छ । कम्पनीको विषयमा केही असम्बन्धित व्यक्तिले समेत फलोअप गरिरहेका छन् । उनीहरुको उद्देश्य के हो ? बुझ्न सकिएको छैन् ।’

टाइगर प्यालेस खरीद बिक्रीसम्बन्धी जानकारी भने विभागलाई प्राप्त भइसकेको छ । उद्योग विभागलाई कम्पनीले होटलको स्वामित्व बिक्री भएको गत हप्ता जानकारी गराएको हो । विभागका अनुसार होटल मातहत रहेका चार वटा कम्पनीको शेयर स्वामित्व बिक्री भएको छ, जसको कूल मूल्य करिब पाँच अर्ब रुपियाँ तोकिएको छ । यो रकम अझै बढ्नसक्ने कम्पनीले जनाएको छ ।

होटल गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीको समूहले खरीद गरेको हो । सुवेदी एलएलसी कम्पनीको अध्यक्ष समेत हुन् । बजगाईंले दुःख दिएपछि उनले होटलको नाम समेत परिवर्तन गरिदिन विभाग समक्ष आग्रह गरेका छन् ।

एनआरएनको लगानीलाई सहज गर्नुपर्छ भन्ने दृष्टिकोणले होटल खरीद बिक्रीलाई सहजीकरण गर्न आफूहरुले प्रयास गरिरहेको बताउँदै उद्योग विभागका ती निर्देशकले खरीद बिक्रीमा विदेशी मुद्रा भित्राउन बाटो खोल्न नेपाल राष्ट्र बैंकलाई आग्रह पनि गरिसकेको बताए । राष्ट्र बैंकले पनि विदेशी मुद्रासम्बन्धी कुरामा सहजीकरण गर्न सोमबार डेपुटी गभर्नर बमबहादुर मिश्रको नेतृत्वमा बैठक बसेको थियो । 

Advertisement

Advertisement