किसानलाई लम्पिस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति सरकारले पनि नदिने, बीमाले पनि नदिने

Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने स्पष्ट पारेका छन् । 

बीमा कम्पनीहरुले यो रोग महामारी भएकाले महामारीको बीमा दावी भुक्तानी दिन नसकिने बताउँदै आएको बेला सरकारले पनि लम्पिस्किनको क्षतिपूर्ति नदिने बताएको हो । सरकारले यो रोगलाई महामारी घोषणा नगरे पनि बीमा कम्पनीहरुले भने महामारी भएको जिकिर गर्दै आएका छन् । महामारीको क्षतिपूर्ति सरकारले मात्रै दिनसक्ने उनीहरुको अडान छ । 

Advertisement

आज बिहीबार कृषिमन्त्रीले पनि लम्पिस्किनको क्षतिपूर्ति नदिने बताएबाट पीडित किसानहरुले कतैबाट पनि राहत नपाउने अवस्था आएको छ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पिस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् । 

उनले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भए पनि त्यसको क्षतिपूर्ति दिन भने नसकिने बताए । यद्यपी सरकारको तर्फबट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको भुसालको भनाई छ । 

उनले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रक्रियालाई अगाडी बढाइएको जानकारी दिए । कार्यविधि पास हुने बित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाई छ । कस्तो राहत दिन लागेको हो भुसालले खुलाएनन् । लम्पिस्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताइएको छ । गत चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको सरकारी तथ्यांक छ । एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको मन्त्री भुसालले पनि स्वीकार गरे । 

Advertisement

Advertisement