पाँच वटाभन्दा कम जहाज हुने वायुसेवा कम्पनीलाई मर्जरमा जान वा जहाज थप्न क्यानको दबाब

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरण (क्यानं)ले पाँच वटाभन्दा कम जहाज हुने नेपालका सबै वायुसेवा कम्पनीहरुलाई मर्जरमा जान वा जहाज थप्न दबाब दिएको छ । 

आगामी पाँच वर्षभित्रमा जहाजको संख्या पाँच वटा पुर्याउनुपर्ने शर्तसहित वायुसेवा सञ्चालकसम्बन्धी मापदण्डमा संशोधन गरेको क्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने सबै कम्पनीहरुलाई यो बाध्यकारी व्यवस्था ल्याएको हो । 

Advertisement

वायुसेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीले सुरुमा नै कम्तिमा तीन वटा जहाज किन्नुपर्ने व्यवस्था गरेको क्यानले हाल सञ्चालनमा रहेको विशेषगरी आन्तरिक उडान सेवाका वायुसेवा कम्पनीहरुलाई घटाउने नीति लिएको हो । अहिले क्यानले तोकेअनुसारको पाँच वटाभन्दा कम जहाज हुने कम्पनीको संख्या १६ वटा छ, जसमा १२ वटा हेलिकप्टर भएका कम्पनी मात्रै छन् । 

संख्या मात्रै धेरै हुने तर उनीहरुले सुरक्षा मापदण्ड पालना र स्तरीय सेवा प्रवाहमा पर्याप्त ध्यान दिन नसक्ने अवस्थाले नेपालको वायुसेवाप्रति यात्रुहरुको विश्वास बढ्न नसक्ने भन्दै क्यानले वायुसेवा कम्पनीहरुको क्षमता बढाउन पनि यस्तो निर्णय गर्नुपरेको बताएको छ ।    

पाँच वटाभन्दा कम जहाज हुनेमा अन्तर्राष्ट्रिय उडानको हिमालय एयरलाइन्स पनि छ । उसको चार वटा जहाज छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको जहाजहरु पाँच वटाभन्दा धेरै भए पनि अन्तर्राष्ट्रिय उडानमा चार वटा र आन्तरिक उडानमा दुई वटा मात्रै जहाज छ । गुण एयरलाइन्सको जहाज पाँच वटाभन्दा बढी भनिए पनि उसको कुनै पनि जहाज अहिले उडानमा छैन् । विमान चालक तथा चालक दलका सदस्यहरुलाई पारिश्रमिक दिन नसक्दा अवस्था आएपछि क्यानले उसको सबै उडानहरु रोकिदिएको थियो । 

वायुसेवा कम्पनीहरुमध्ये बुद्ध एयरको १६ वटा जहाज छ भने हिमालय एयरलाइन्सको चार वटा, नेपाल एयरलाइन्सको १३ वटा, सौर्य एयरलाइन्सको तीन वटा, श्री एयरलाइन्सको १६ वटा, गुण एयरलाइन्सको सात वटा, सिता एयरको चार वटा, तारा एयरको तीन वटा, यति एरलाइन्सको पाँच वटा छ ।  त्यस्तै, हेलिकप्टर कम्पनीहरुमध्ये एयर डाइनस्टिको चार वटा हेलिकप्टर, छ भने अल्टिच्युट एयरको दुई वटा, समिट एयरको चार वटा, फिस्टेल एयरको तीन वटा, हेलि एभरेस्टको तीन वटा, मनाङ एयरको दुई वटा, माउन्टेनको दुई वटा, प्रभुको दुई वटा, सिमरिक एयरको चार वटा, कैलाशको तीन वटा, मुस्ताङको एउटा र अन्नपूर्णको एउटा रहेको छ ।क्यानले भदौ १५ गते नयाँ मापदण्ड ल्याएको थियो । 

 

null

Advertisement

Advertisement