त्रिभुवन विमानस्थलमा विदेशी वायुसेवाहरुलाई थप उडान अनुमति दिँदै क्यान, थाईले पनि आउने

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरण (क्यान)ले विदेशी वायुसेवा कम्पनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान अनुमति दिने तयारी गरेको छ ।  
 
नयाँ बनेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न विदेशी वायुसेवा कम्पनीहरु इच्छुक नदेखिएपछि त्रिभुवन विमानस्थलमै थप उडान अनुमतिको तयारी क्यानले गरेको हो । साथै, कोरोना महामारीपछि उडान स्थगित गरेको थाई एयरलाई पुनः उडान गर्न थालेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

उनले विदेशी पर्यटकहरु बढाउन उद्देश्यले विदेशी वायुसेवा कम्पनीहरुलाई थप उडान गर्न अनुमति दिन लागेको बताए । यसका लागि प्रक्रिया जारी रहेको भुलले बताए । 

Advertisement

उनले भने, ‘यही सेप्टेम्बरको अन्तिमतिर मनसुन सक्किएपछि मौसममा पनि सुधार हुन्छ । चाडपर्वको सिजन पनि सुरु हुन्छ । सेप्टेम्बर १५ पछि पर्यटकीय सिजन पनि सुरु हुने भयो । हवाइ गतिविधि बढ्ने भनेको यही सिजनमा हो । यसबाट दशैंतिहार मनाउन नेपाल आउने नेपाली र नेपाल घुम्न आउने विदेशीहरुलाई पनि सहज हुन्छ भन्ने हाम्रो विश्वास छ । 

अन्तर्राष्ट्रिय उडानहरु थप्पिएपछि  र थाई एयरवेज पनि आइसकेपछि नेपालको अन्तर्राष्ट्रिय उडान कोरोना महामारी पहिलाको अवस्थामा पुग्ने भुलको तर्क छ । उनले भने, ‘यो भनेको उड्डयन क्षेत्रको र पर्यटन क्षेत्रको लागि पनि राम्रो कुरा हो ।’

उडान तालिका थपिने विदेशी वायुसेवा कम्पनीहरुमध्ये एयर अरेबियाको हाल दिनमा तीन वटा उडान रहेकोमा थप्पिएर पाँच वटा हुने छ । एयर अरेबिया आबुधाबीको हाल दैनिक दुई वटा उडान रहेकोमा तीन वटा हुनेछ । 

त्यस्तै, फ्लाइ दुवईको हाल चार वटा उडान रहेकोमा अब पाँच वटा हुनेछ भने विस्तारा एयरलाइन्सको सात वटा उडानबाट १४ वटा हुनेछ । थाई एयरले कोरोनाअघि जस्तै उडान तालिका उडान गर्नेछ । विमान बंगलादेशको हाल दैनिक सात वटा उडान तालिका रहेकोमा अब १० वटा हुनेछ । बटिका एयरको हाल दैनिक चार वटा उडान रहेकोमा अब सात वटा हुने भुलले बताए । 

त्रिभुवन विमानस्थलमा धेरै उडान गर्न पार्किङदेखि अरु पूर्वाधार र सुविधाको अभाव रहे पनि अरु विमानस्थलमा व्यापार र आकर्षण नहुँदा यही विमानस्थलमा थप भार थप्न लागिएको हो । सुचना अधिकारी भुलले भैरहवा र पोखराबाट पनि उडान गर्न विदेशी वायुसेवा कम्पनीलाई आफूहरुले आग्रह गरेको बताए । 

पोखराबाट हिमालय एयरलाइन्स र चिनियाँ एयरलाइन्स कम्पनीहरुले उडान गर्ने योजना बनाएको धेरै पहिलादेखि आए पनि अहिलेसम्म नियमित उडान सुरु हुन सकेको छैन् । पोखराबाट भुटानको ड्रुप एयरले शनिबार चार्टर उडान गरेको थियो । त्यसअघि चीनको सिचुवान एयरलाइन्सले पोखरामा यस्तो उडान गरे पनि नियमित उडान गर्ने आँट भने कसैले पनि गरेका छैनन् ।  

आउँदो अक्टोबर २९ बाट विन्टर तालिका सुरु हुने बताउँदै भुलले यो तालिका सुरु भएपछि जजिरा एयरवेजले पनि भैरहवाबाट हप्ताको तीन वटा उडान गर्ने दावी गरे । 

Advertisement

Advertisement