‘ठूला माछा’हरुलाई जोगाउँदै सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबी

Advertisement

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पछिल्लो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई पठाउने तयारी गरेको छ । 

भ्याएसम्म भोलि मंगलबार नभए पर्सी बुधबार फाइल बुझाउन लागिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कठायतले जानकारी दिए । गत साउन २ गते दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्याइएको अवैध सुन पक्राउ परेर अनुसन्धान सुरु गरेको मंगलबार ५६ दिन हुनेछ । 

Advertisement

संगठित अपराधमा ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । अन्तिम समयमा आएर हतार हतार ‘ठूला माछा’लाई सुरक्षित गर्दै प्रतिवेदन बुझाउन लागिएको हो ।  रेडी ट्रेड प्रा.लि. नामक कम्पनीले ब्रेक सु भन्दै जाँचपास गरेको १५५ किलो सामानभित्र सुन भेटिएको थियो । 

राजश्व अनुसन्धान विभागले पक्राउ गरेको उक्त सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेक सुबाट निकालेर खार्दा ६० किलो ७१६ ग्राम सुन यकिन भएको थियो ।  विभागले अनुसन्धान सुरु गर्दा माओवादी नेताहरु ठोक्किन थालेपछि अनुसन्धानबाट हात झिक्दै सीआईबीलाई जिम्मा लगाएको थियो।

गत साउन २० देखि अनुसन्धानको जिम्मा पाएको सीआईबीले पनि अनुसन्धानलाई प्रभावकारी रुपमा अघि बढाउन भने सकेको छैन् । घटनाको प्राविधिक पक्ष हेर्ने भन्दै दुई हप्ता बिताएको सीआईबीले अनुसन्धान माओवादी नेतातर्फ नै घुम्न थालेपछि सहयोगी भूमिकामा रहेकाहरुलाई मात्रै पक्राउ गर्ने र ठूला तस्कर र संरक्षणहरुलाई उन्मुक्ति दिने प्रयास भएको छ । 

प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सात जना कर्मचारीलाई पक्राउ गरेका छन् भने चाइनिज तथा भारतीयसहित अरु २७ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । सुन तस्करीमा नाम जोडिएका माओवादीका उच्च तहका कुनै पनि नेतालाई पक्राउ गरिएको छैन् । 

सुन तस्करीमा अन्तरदेशीय संगठित अपराधीहरु संलग्न रहेको भनिए पनि प्रहरीले त्यसमा मौन बसेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशकले यस तस्करीमा विदेशी तस्करहरुको समेत संलग्नता देखिएको बताएका थिए । पक्राउ परेकामध्ये सबैभन्दा ठूलो अभियुक्त दावा छिरिङ भएको बताउँदै प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा फाइल बुझाउन लागेको हो ।

Advertisement

Advertisement