भैरहवा र पोखराभन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्यो, प्राथमिकता फरक पर्योः महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् । 

एकसय १०औं बिपी जयन्तीका अवसरमा सोमबारले उनले भैरहवाको गौतम बुद्ध र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको बताए । 

Advertisement

महतले अबको चार वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने बताए । उनले नेपालमा जलविद्युत र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । महतले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको बताए । 

उनले भने, ‘नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी छ । नेपाललाई टुरिस्ट हब बनाउन सकिन्छ । अब भारत र चिनियाँ पर्यटकहरुलाई बढी ल्याउनुपर्छ, हामीले पूर्वाधारमा राम्रो लगानी गर्नुपर्छ । हाम्रो धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन सकेको छैन । हामीले पहिला लुम्बिनी र पोखरा एयरपोर्ट बनायाँै । सबैभन्दा पहिला हामीले निजगढ बनाउनु पर्दथ्यो । हाम्रो कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ । निजगढको विषयमा गर्ने नगर्ने भन्ने धेरै भयो । फास्ट ट्रयाक भएपछि ४५ मिनेटमा काठमाडौं आउन सकिन्छ । त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ । चार वर्षसम्म एयरपोर्ट बनाइसक्नेछौँ ।’

Advertisement