नेपालको अर्थतन्त्र सय अर्ब डलरको बनाउन पहल गर्ने प्रतिवद्धता

गैरआवासीय नेपाली संघको आगामी अध्यक्षका लागि महेश श्रेष्ठद्धारा उम्मेदारी घोषणा

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२३–२५ कार्यकालको अध्यक्षका लागि जापानका गैरआवासीय नेपाली महेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष रहेका उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । 

यही आउँदो अक्टोबर १७ देखि हुन लागेको संघको ११औं महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन हुँदैछ । तीन दिने विश्व सम्मेलन तथा महाधिवेशनमा विश्वका करिव ८० देशबाट एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।  

Advertisement

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित श्रेष्ठले पाँच नीतिगत योजना पनि सार्वजनिक गरेका छन् । उनले संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित संस्था बनाउन आफूले उम्मेदवारी घोषणा गरेको बताए । 

श्रेष्ठले ‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने आफ्नो प्रमुख उद्देश्य र प्राथमिकता हुने बताएका छन् । उनले भने,  ‘एनआरएनएमा विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नुहुने सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई म पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु । 

विजयी भएर शपथ लिएको दिनदेखि नै वार्षिक क्यालेन्डर र कार्ययोजना  बनाएर सबैको विश्वास जित्नेगरी काम गर्ने बताउँदै श्रेष्ठले अध्यक्ष भएपछिको दुई बर्षको कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने  उद्देश्यले सुरू गरिएको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने बताए । 

उनले अर्थतन्त्र मजबुत बनाउने सवालमा दीर्घकालिन योजना र महत्वाकांक्षी सपनाहरु देख्नुपर्छ भन्ने मान्यता अनुरुप सन् २०३० सम्म नेपालको अर्थतन्त्र सय अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित संघले सरकार तथा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । प्रवासी नेपालीहरुको मुद्दामा सक्रियतापूर्वक काम गरेको अनुभव सुनाउँदै श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको निराकरणमा सारथी बन्ने बताए । 

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपियाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने, श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउने उनले बताए । 

श्रेष्ठले सरकार र दातृ निकायसँग समन्वय गरी १० करोड रुपियाँको श्रमिक कल्याण कोष खडा गर्ने आफ्नो योजना रहेको बताउँदै संघको भावी नीति, रणनीति, कार्ययोजना मस्यौदा गर्न तथा दश वर्षे विस्तृत ‘भिजनरी’ दस्तावेज तयार गर्न विशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय समिति गठन गरेर काम गर्ने बताए । 

श्रेष्ठले ‘एक एनसीसी, एक परियोजना’ लाई एनआरएनए फाउन्डेसनमार्फत एकीकृत रुपमा अघि बढाउने, परराष्ट्र मन्त्रालयमा एनआरएनए विभाग स्थापनाका लागि पहल गर्ने, राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षहरूलाई नेपाल सरकारको अवैतनिक वाणिज्य दूतको रुपमा मान्यता दिन सरकारसँग पहल गर्ने बताउँदै स्थायी आवास अनुमति (पीआर) भई विदेशमा बसेका नेपालीहरुका सम्वन्धमा संविधानको धारा २९१ मा राखिएको विभेदकारी प्रावधान संशोधनका लागि पहल गर्ने र एनआरएनएको लामो समयको पहलपछि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अवसर मिलिरहेकाले सोलाई कार्यान्वयनलाई सहज बनाउन पहल गर्ने बताए । 

उनले विदेशमै बसेर मातृभूमिको प्रवर्द्धन र प्रचारमा गैरआवासीय नेपालीहरुको सक्रिय सहभागिताका लागि ‘एक साथी नेपाल पठाउँ’, ‘नेपाली भाषा र संस्कृति जोगाऔं’ अभियान र नेपाल फेस्टिवल जस्ता कार्यक्रमलाई संसारभर सञ्चालन गर्ने लक्ष्य लिएको बताए । श्रेष्ठ सिटी एक्सप्रेस मनी ट्रान्सफरका सञ्चालक पनि हुन् । 

उम्मेदवारी घोषणा कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्षहरु नरेन्द्र भाट, राज रेग्मी, प्रवक्ता सोम सापकोटा, सचिवहरु प्रवीण गुरुङ, गंगाधर गौतम, सघको युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, पूर्व सल्लाहकार हरिबोल भण्डारी, पूर्वआइसीसी सदस्यहरू विमल सुवेदी, अर्जुन श्रेष्ठ, एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष बुद्धि सुवेदीले श्रेष्ठलाई साथ दिँदै आफ्नो धारणा राखेका थिए । 

Advertisement

Advertisement