स्थानीय धर्म संस्कृति मास्न लागेको भन्दै अफगानिस्तानमा एनजीओका कर्मचारीहरु पक्राउ

Advertisement

काबुल (एएफपी) । अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशीसहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्था (एनजीओ)का १८ कर्मचारीलाई पक्राउ गरेको छ ।     
     
इन्टरनेशनल असिस्टेन्ट मिसन (आईएएम)ले आफ्ना ती कर्मचारीलाई मध्यअफगानिस्तानको घोर प्रान्तमा रहेको कार्यालयबाट पक्राउ गरेर राजधानी काबुल लगेको बताएको छ । समाचारअनुसार स्थानीय धर्म संस्कृति मास्न लागिपरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । 

आफ्ना कर्मचारीविरुद्ध लगाइएको अभियोग बारेमा हालसम्म कुनै जानकारी नभएको र त्यससम्बन्धमा कुनै टिप्पणी वा अनुमान गर्न नसकिने आईएएमले विज्ञप्ति निकालेर भनेको छ ।     
     
“यद्यपि हाम्रो सङ्गठन वा कुनै कर्मचारीविरुद्ध अभियोग लगाइएमा प्रस्तुत गरिएका प्रमाणको स्वतन्त्र रूपमा समीक्षा गर्नेछौँ । हामी स्थानीय संस्कृतिको सम्मान गर्छौँ ।” विज्ञप्तिमा भनिएको छ । तालिवान अधिकारीहरूले पनि गैससका कर्मचारीलाई हिरासतमा लिइएकोबारे तत्काल प्रतिक्रिया दिएका छैनन् ।     
     
सन् १९९६ देखि अफगानिस्तानमा आँखा सेवा सञ्चालन गरेको आईएएमले स्वास्थ्यका अन्य विधा र शिक्षा क्षेत्रमा काम गर्दै आएको छ । आईएएमको वेबसाइटमा संस्थालाई इशाईका मूल्यमान्यतामा आधारित भनिए पनि यसले राजनीतिक वा धार्मिक विश्वासका आधारमा सहायता प्रदान नगर्ने स्पष्ट गरेको छ ।     
     
अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएपछि धेरै पश्चिमासहित अज्ञात सङ्ख्यामा विदेशीहरूलाई तालिवान अधिकारीहरूले हिरासतमा लिएका छन् । तालिबान शासकहरूले शरिया कानुन लादेर महिलाहरूलाई गैरसरकारी संस्था र संयुक्त राष्ट्रसङ्घका निकायमा काम गर्नबाट वञ्चितमात्र गरेका छैनन् अपितु किशोरी र महिलालाई स्कूल÷ विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाएका छन् । 

Advertisement

Advertisement

Advertisement