किस्ता तिर्न गाह्रो भएकोले बैंकलाई चावी बुझाउन लागेका हौंः सौराहाका व्यवसायी

Advertisement

काठमाडौं । क्षेत्रीय होटल एशोसियशन चितवनका अध्यक्ष गंगा गिरीले किस्ता तिर्न गाह्रो भएकाले सौराहाका व्यवसायीले बैंकलाई चावी बुझाउन लागेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण सौराहाका अधिकांश व्यवसायी सिद्धिन लागेको (धरासायी भएको) भन्दै कुनै विकल्प नरहेकाले चावी बैंकलाई बुझाउन लागेको बताए ।   

Advertisement

गिरीले भने, ‘एकातिर बैंकको चर्को बयाज दर छ । देशमा आर्थिक मन्दी छ । न बाटो राम्रो छ । अर्कोतिर एयरलाइन्सको टिकटको मूल्य वृद्धिले विदेशी र स्वदेशी पर्यटक आउन सकेका छैन् । यस्तो अवस्थामा हामीले कति दिन थेग्ने । बैंकले लिलामी गर्ने र कालोसुचीमा राख्नुभन्दा अगाडि नै बैंकलाई नै चावी बुझाउन ठिक हुने ठानेर चावी बुझाउन लागेको हो ।’

चितवनका होटल व्यवसायीहरुले सिजन पर्खिरहे पनि अपेक्षा गरेअनुसार पर्यटन आउने लक्षण नदेखिएको उनले बताए । गिरीले अहिले पहिला जस्तो पर्यटकहरुको चहल पहल नै छैन् भन्दै होटलहरुको सञ्चालन खर्च बढ्दै जाने तर आम्दानी नढ्ने अवस्थामा यो व्यवसाय गर्न आफूहरुलाई कठिनाई भएको बताए । 

उनका अनुसार पर्यटकीय क्षेत्र सौराहामा अहिले दुई प्रतिशत पनि पर्यटक नभएको बताए । गिरीले भने, ‘सिजन सुरु हुन लाग्यो तर बाटोले गर्दा खतम बनायो । जताततै खनेको छ । भत्काएको छ । बनाउन बर्षौं लाग्छ । त्यसपछि कतिबेला पहिरो खसेर यातायात अवरुद्ध हुने हो ? टुँगो हुँदैन् ।’ 

चितवनबाट काठमाडौं, पोखरा, बुटवल जाने सबै सडक अहिले हिँडिसाध्य नरहेको गिरीको भनाई छ । उनले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा र मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा हवाई टिकटको मूल्य ह्वात्तै वृद्धि भएको बताउँदै २५ मिनेट उडानको विदेशीलाई झण्डै १४५ डलर अशुलेपछि नेपालमा कसरी पर्यटक आउँछन् ? भनी प्रश्न गरे । 

पर्यटन व्यवसायी गिरीले नेपाली, भारतीय र विदेशी पर्यटकहरुलाई हवाई टिकटको मूल्य फरक फरक हुनु राम्रो होइन भने । उनका अनुसार अहिले चितवनमा नयाँ रिसोर्टको रुपमा  ‘वनबास रिसोर्ट’ निर्माण सम्पन्न भएको बताउँदै निर्माण सम्पन्न भएको बताए । अर्को एक पाँचतारे होटल निर्माण भइरहे पनि सम्पन्न हुन समय लाग्ने गिरीले बताए । 

क्षेत्रीय होटल एसोसिएशन चितवनमा आवद्ध होटल, तथा रिसोर्ट ६७ वटा छन् भने आवद्ध नभएका ५० वटा होटल र रिसोर्ट छन् । 

Advertisement

Advertisement