गैरआवासीय नेपाली संघको विश्व सम्मेलन एवं महाधिवेशन भोलिबाट, कस्तो छ तयारी ?

Advertisement

काठमाडौं । गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन मंगलबारबाट सुरु हुँदैछ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं महाधिवेशनको रुपमा समेत सुरु हुन लागेको सम्मेलनमा भाग लिन विश्वभरबाट संघका प्रतिनिधिहरु राजधानी काठमाडौंमा भेला भएका छन् । 

‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा भइसकेको छ । विश्वभर रहेका नेपालीहरुलाई एकैसुत्रमा बाँध्ने उद्देश्यले स्थापना भएको यस संघले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने प्रयास गर्दै आएको छ । 

Advertisement

यद्यपि संघमा पछिल्लो समय बढी राजनीतिकरण र जातीयकरणको रोग बढ्दै गएको, नेतृत्वमा व्यवसायिक र स्वतन्त्र व्यक्तिभन्दा पनि राजनीति उद्देश्यले लागेका व्यक्तिहरु हावी हुँदै गएको, संघको नेतृत्वमा पुगेर व्यक्तिगत फाइदाका लागि काम गर्न लाग्ने गरेको समेत आरोप लाग्ने गरेको छ । 

हालसम्म ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरिसकेको संघले विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत नेपालप्रतिको अपनत्व बढाउन भूमिका खेल्नुपर्नेमा खासै भूमिका खेल्न सकेको छैन् । संघको दबाब र नेपालबाट बाहिर पुँजी पलायन रोक्न सकियोस भनेर सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलिदिएको छ । पछिल्लो समयमा युरोप, अमेरिका, अष्ट्रेलियामा स्थायीरुपमा बसोबास गर्न थालेकाहरुले नेपालबाट आफ्नो पैत्रिक र गैरपैत्रिक सम्पत्ति लैजाने क्रम बढेर गएको देखिन्छ । 

संघको स्थापनापछि भएका केही सकारात्मक नजिता पनि देखिन्छन् । यो बीचमा ठूला लगानीकर्ता मात्रै नभएर साना तथा मझौला लगानीकर्ताहरु पनि लगानी भित्राउन उत्साहित देखिएका छन् । देशको प्रतिकुल राजनीतिक अवस्था र विकृति प्रशासनिक प्रणालीका बीच पनि थुप्रै गैरआवासीय नेपालीहरुले ठूला साना परियोजनामा लगानी गर्नुका साथै सामाजिक र परोपकारी कार्यहरुमा सहयोग गर्दै आएका छन् । दुई दशकमा गैरआवासीय नेपालीले एक खर्ब नेपालमा लगानी भित्राएको अनुमान गरिए पनि देशबाट कति रकम लगे ? त्यो भने रेकर्डमा देखिन्न । खाडी, मलेसिया, मध्यपूर्वमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा, उद्दार आदिमा समेत संघले भूमिका खेल्दै आएको देखिन्छ । 

यस पटक संघले ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रीत भएर सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन राष्ट्रपतिले भालि बिहान गर्ने कार्यक्रम छ । तीन दिनसम्म चल्ने संघको सम्मेलन तथा महाधिवेशनका क्रममा विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिता ऐन र मताधिकार सम्बन्धमा सरकार र सरोकारवालासहितको  विशेष सत्रको आयोजना गरिने जनाइएको छ । 

संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समेत हुने यस महाधिवेशनमा अध्यक्षका पाँच जना प्रत्यासी देखिएका छन् । संघको इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशनमार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार २२७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको संघले जनाएको छ । नेपालमा आएका मतदाताको लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement