रेमिट्यान्स २२.१ प्रतिशतले बढ्यो, दुई महिनामै भित्रियो २ खर्ब २८ अर्ब

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दुई महिना अर्थात भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई रु.२२८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । 

Advertisement

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.२५१ अर्ब ६१ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।

Advertisement