पासपोर्ट दिएर सरकारले ‘देश छोड’ भनेको होइन्ः मन्त्री महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलनमा मंगलबार बोल्दै उनले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेको बताउँदै उनीहरुको लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका हुन् । 

Advertisement

महतले नेपालमा प्रशस्त संभावना रहेको दावी गर्दै तर युवाहरु भने नेपालमा केही छैन् भनेर पलायन हुने क्रम बढेको बताए । उनले भने, ‘युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ । यहाँ अवसर छ । अरु देश भौतिकरुपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ । त्यसलाई हेर्ने दृष्टिकोण सुक्ष्म चाहिन्छ ।’

मन्त्री महतले जलविद्युत क्षेत्रमा नेपालले सञ्जाल बनाइसकेको बताउँदै निजी क्षेत्रबाट पनि जलविद्युत उत्पादन हुने क्रम बढेको, दर्जनौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेको, माथिल्लो अरुणमा विश्व बैंकको नेतृत्वमा लगानी भइरहेको, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्न लागेको उदाहरण दिए । आफूहरुले उनीहरुसँग सहुलियत दरमा ऋण मागेको पनि उनले बताए । 

महतले भने, ‘आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्नेछ । यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं । अब यसमा गैरआवासीय नेपाली साथीहरु जोडिनुपर्छ । हामी बुढीगण्डकी जलाशययुक्त आयोजनालाई अगाडि बढाउन चाहान्छौं ।’

लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्र भएको उनले बताए । महतले बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदोरहेछ भन्दै बेलायत मात्र नभएर अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको बताए । सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिने उनको भनाई छ । 

मन्त्री महतले भने, ‘जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ । यसलाई तोड्न केही समय लाग्छ ।’ उनले संभावना भएको अर्को क्षेत्र पर्यटन पनि हो भने । यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै महतले मध्यपूर्वलगायत कोरिया गएकाहरु फर्किँदा सानो पूँजीसँगै ज्ञान पनि लिएर फर्किने गरेको बताए । उनीहरुले यही सानो व्यवसाय सुरु गरिसकेका छन् भन्दै उनले आफूहरुले उत्पादनलाई सुरक्षा दिने नीति लिएको दावी गरे । 

नेपालमा धेरै नकरात्मक भावना फैलिएको मन्त्री महतको गुनासो छ । उनले भने, ‘नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरुले केही गर्दैनन्, यिनीहरु बिगार्न मात्र आएका हुन् । खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ ।’ 

महतले थपे, ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौं । जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौं । सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो । तपाइँहरुले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ ।’

उनले २०४६ सालपछि हाम्रो कूल ग्राहस्थ उत्पादनमा ६० गुणाले वृद्धि भएको, प्रतिव्यक्ति आय सात गुणाले वृद्धि भएको, औषत आयु ५४ वर्षबाट ७२ वर्ष भएको कुरा औंल्याउँदै राजश्व अनुपात कुल ग्राहस्थ उत्पादनको अनुपातमा दोब्बर बढेको, विद्युतको पहुच ९७ प्रतिशतभन्दा बढी भएको, गाउँ गाउँमा सडक सञ्जाल पुगेको, बालमृत्यु दर २५४बाट २७ मा झरेको, मातृ मृत्युदर ८५० बाट १५१ मा झरेको उदाहरण पेश गरे । 

मन्त्री महतले द्वन्द्व, अस्थिरता, भूकम्पलगायत अनेकौं कठिनाइबाट नेपाल गुज्रिएको बताउँदै धेरै प्रगति गरे पनि सन्तुष्ट हुने ठाउँ भने नरहेको बताए । उनले पासपोर्ट दिएर देश छोड सरकारले भनेको होइन् भन्दै यो व्यक्तिको स्वतन्त्रता हो भने । यो स्वतन्त्रता उपभोग गर्दै लाखौं नेपालीहरुले आफ्ना आकाक्षा पूर्ति गर्न मुलुक बाहिर गएको महतको भनाई छ । 

उनले भने, ‘तर के सधैं बाहिरै जानुपर्दैन, मलाई लाग्छ, गैरआवासीय नेपालीहरु फर्किनु हुन्छ । कतिपय युवास्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनु होला । किनभने यहाँ अवसर छ, यो अवसर हामीले सुष्म दृष्टिले हेर्नुपर्छ ।’

Advertisement

Advertisement