संकटग्रस्त अवस्थामा पुगेको बीमा संस्थानमा कर्मचारी सरुवा बढुवालाई लिएर बिबाद बढ्यो

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा दुई कर्मचारीले आफूहरुको बढुवा रोकेकोमा संस्थान व्यवस्थापनप्रति आक्रामक बनेका छन् । आर्थिकरुपमा र्जर्जर बन्दै गएको संस्थानमा बढुवाको विषयलाई लिएर उनीहरुले आपत्ति जनाएका हुन् । 

आपत्ति जनाउने कर्मचारीहरु आशाकुमारी बस्नेत र शारदा पाण्डे हुन् । संस्थानका प्रशासक कवि पाठकको बलमिच्याइँका कारण अनाहकमा आफूहरुको सुविधा रोक्किएको पीडित कर्मचारीहरुको गुनासो छ । बस्नेत र पाण्डेले लिखितरुपमा नै संस्थान सञ्चालक समितिको पनि ध्यानाकर्षण गराएका छन् । 

Advertisement

मन्त्रिपरिषदबाट हुनुपर्ने कर्मचारी नियमावलीको संशोधन मन्त्रिस्तरबाट गराई कर्मचारीको बढुवा तथा पद पूर्र्तिको निर्णय गरिएको बुझिएको छ । त्यसरी नियमावली संशोधन गरी पाठकले आफू निकट कर्मचारीलाई योग्यता नपुग्दा पनि बढुवा गरेका थिए । 

पीडित एक कर्मचारीले भनिन्, ‘कतिसम्म गरिएको छ भने कार्यसम्पादन मूल्यांकनको सय अंकमा ११० सम्म नम्बर दिएको छ । कहाँबाट दिनमिल्छ त्यसरी ? नियोजितरुपमा नम्बर फेरबदल गर्दै कसैलाई बढुवा गर्ने, कसैलाई नगर्ने गरिएको छ । प्रशासकले त सबैको हितको लागि काम गर्ने हो । तर त्यो हुन सकेको छैन् । सुपरिवेक्षकले दिएको नम्बर फेरबदल गरेको हामीलाई थाहा छ । प्रमाण पनि छ । यो त सिधै गैरकानुनी काम हो ।’  

प्रशासकले आफ्ना गलत काम नसच्याए तिहारपछि उनलाई कालोमोसो दल्न आफूहरु बाध्य हुने अर्को पीडित कर्मचारीले चेतावनी दिइन् । बीमा संस्थानको आर्थिक अवस्था कमजोर बन्दै गएर कार्यक्षमता पनि खस्किएको बेलामा आफूहरुको बढुवा रोकिदिँदा थप मानसिक पीडा थपिएको बताए । 

संस्थान सञ्चालक समितिलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यमा संलग्न नरहेका तर आफू पनि पीडित भएको बताउने संस्थानका सहव्यवस्थापक रेशम पौडेलले पनि प्रशासकबाट संस्थानको अवस्था सुधार गर्नेभन्दा पनि कर्मचारीहरुलाई चिढ्याउने काम गरेको गुनासो गरे ।  

असन्तुष्ट कर्मचारीहरुले कर्मचारी नियमावली २०७५ कर्मचारीहरुको आवश्यकताअनुसार संशोधन गरी मन्त्रिपरिषदबाट  स्वीकृत गराएर लागू गर्नुपर्नेमा त्यस्तो नगराई अर्थ मन्त्रालयबाट आफू अनुकुल तजबिजी निर्णय गराउँदै कर्मचारीहरुमाथि पक्षपातपूर्ण व्यवहार गर्ने काम प्रशासकले गरेको बताए । 

स्वयम कतिपय कर्मचारीहरुसँग नै पाठकले संस्थानको अवस्था उकासिन गाह्रो रहेको भन्दै निराशापूर्ण कुरा गर्ने गरेको भन्दै असन्तुष्ट कर्मचारीहरुले संस्थानको अवस्था सुधार गर्न आएको व्यक्तिबाट नै संस्थानलाई व्यवसायिकरुमपा अघि बढाउन सबैलाई विश्वासमा लिएर काम गर्न लाग्नुपर्नेमा राजनीतिक गर्ने, कर्मचारीमा गुटबन्दी गर्ने, आफूनिकट र अरु कर्मचारीमा फरक व्यवहार गर्ने काम गरेको आरोप लगाए । 
 
यता बीमा संस्थानलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले यही कातिक २२ गतेभित्रै ‘टेक–ओभर’ गर्ने खबरहरु बाहिरीसँगै प्रशासक पाठकले त्यसलाई रोक्न अहिले पटक पटक अर्थ मन्त्रालय र प्राधिकरण धाइरहेका छन् । 

संस्थानको वित्तीय अवस्था निकै र्जर्जर भइसकेको, लामो समयदेखि हिसावकिताव मिलान गरी लेखापरीक्षण गर्न असफल भएको, बेरुजु निकै धेरै रहेको, खस्किँदो आर्थिक अवस्थाका कारण बीमितहरुलाई १०–१२ भन्दा बढी बोनस दिनसक्ने अवस्था नभए पनि ६० सम्म बोनस दिने काम गर्दै आएको, आधुनिक प्रविधि र नयाँ जनशक्तिबाट प्रतिस्पर्धी सेवा दिन नसकेको, आफ्नो लगानी र निक्षेप कहाँ कति छ ? त्यसको समेत रेकर्ड राख्न नसकेको, प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न नसकेको, सम्पत्तिभन्दा दायित्व बढी भइसकेको जस्ता कारण देखाउँदै प्राधिकरणले संस्थानलाई नियन्त्रणमा लिएर सुधारको प्रक्रिया अघि बढाउने योजना बनाएको छ । तर संस्थान छुट्टै ऐनअनुसार चल्दै आएको र अर्थ मन्त्रालयले समेत नियमन गर्ने भएकाले ‘टेक–ओभर’ गर्न केही ढिलाई हुँदै आएको छ । 

undefined

Advertisement